विमलपन्थी गोजमुमो सिक्किम शाखाद्वारा पार्टीको स्थापना दिवस पालन गर्दै। |
गान्तोक, ८ अक्टोबर : विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सिक्किम शाखाले आइतवार स्थानीय देउरालीस्थित एक सार्वजनिक भवनमा पार्टीको स्थापना दिवस पालन गऱ्यो। शाखा अध्यक्ष गणेश छेत्रीले आयोजन गरेको यो स्थापना दिवसमा सिक्किम शाखाका पदाधिकारी र कार्यकर्ताहरू उपस्थित थिए।
सभालाई सम्बोदन गर्दै कार्यक्रमका प्रमुख अतिथि छुङछुङ भोटियाले पार्टी प्रमुख विमल गुरुङ एक मात्र साँचो र इमानदार नेता भएकोले कारण नै गोर्खाल्यान्ड आन्दोलन जिउँदो रहेको दाबी गरे। उनले फोहोर मैलालाई सफा गर्न एकताबाट मात्र सम्भव रहेको बताए। “फोहोर मैला सफा गर्न कुच्चो छरपस्ट भएर होइन, तर एकै ठाउँमा बाँधिएर मात्र सम्भव छ’’, उनले भने।
भोटियाले विगतको गोर्खाल्यान्ड आन्दोलनअवधि सिक्किमेली जनताले परोक्ष रूपमा सहयोग गरेको बताउँदै भविष्यमा पनि गोर्खाल्यान्ड आन्दोलन यस्तै सहयोग गर्न सिक्किमेली जनता कटिबद्ध रहेको दाबी गरे।
सिक्किम शाखाका अध्यक्ष गणेश छेत्रीले गोजमुमो जन्म गोर्खाल्यान्ड प्राप्तिका लागि भएको बताए। उनले गोर्खा जातिको वर्षौं पुरानो माग र सपना पूरा नभएसम्म पार्टी अध्यक्ष विमल गुरुङकै नेतृत्वमा रहेर उन्मुक्तिको आन्दोलनमा समर्पित र कटिबद्ध भएर लागिपर्ने ठोकुवा गरे।
पछिल्लो गोर्खाल्यान्ड आन्दोलनदेखि हालसम्म दार्जीलिङ पहाड़मा पुलिस प्रशासनको अन्याय अत्याचार जारी रहेको बताउँदै पुलिस प्रशासनलाई अघि लगाएर राज्यले मच्चाइरहेको आतङ्कको अन्य वक्ताहरूले तीखो शब्दमा विरोध तथा निन्दा गरे।
यसभन्दा अघि गोर्खाल्यान्ड आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनटको मौन धारण गरिएको थियो भने शाखा अध्यक्षको बाहुलीबाट पार्टीको झण्डा उत्तोलन गरियो। महेन तामाङले सञ्चालन गरेको कार्यक्रममा शाखा सचिव शकुल राईले स्वागत सम्भाषण राखेका थिए।