जेपी नड्डासँग बिष्टको भेटवार्ता २०२१ को चुनावी स्टन्टः विनय

0
1070

दार्जीलिङ, ८ जुलाईः दार्जीलिङ पहाड़का मुद्दाहरूबारे भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग सांसद राजु बिष्टको भेटवार्तालाई विनय तामाङले चुनावी स्टन्ट बताएका छन्।

गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनयका अनुसार नड्डासँग बिष्टको यस भेटवार्ता २०२१ को विधानसभा चुनाउका लागि सानो स्टन्ट हो।

यसका साथै उनले यस भेटवार्ताप्रति आपत्ति जनाएका छन्।

‘२०१७ को आन्दोलनको समयमा पनि तत्कालीन गृहमन्त्री राजनाथ सिंहले गोर्खाको राजनीतिक समाधानका लागि त्रिपक्षीय वार्ता बोलाउने वचन दिएका थिए। यही वर्ष भाजपाका घटक दल गोरामुमोका महेन्द्र छेत्रीले पनि छैटौं अनुसूची विषयमा केन्द्रका गृहमन्त्रीसँग बैठक हुने घोषणा गरेका थिए। तर आजसम्म यस्तो कुनै बैठक बोलाइएको छैन’, विज्ञप्तिमा विनयले भनेका छन्, ‘राजु बिष्टलाई मेरो प्रश्न छ, तपाईं पहाड़का सांसद भएको नातामा स्थायी राजनीतिक समाधानको कुरा गर्नु हुँदैछ। तर विश्वभरि छरिएर बसेका गोर्खाका लागि, दार्जीलिङ तराई अनि डुवर्सका लागि अनि भारतीय गोर्खाका लागि स्थायी राजनीतिक समाधान भनेको छुट्टै राज्य गोर्खाल्याण्ड मात्र हो। दुर्भाग्यको कुरा तपाईंको मुखबाट गोर्खा शब्द अहिलेसम्म उच्चारणसमेत भएको छैन। आजको ज्ञापनमा पनि गोर्खाल्याण्ड शब्द छैन। गोर्खाल्याण्ड शब्द नलेख्नुमा तपाईंलाई के आपत्ति छ? कहाँ अड़्चन छ? कहाँ बाधा छ? तपाईंबाट म स्पष्टीकरण माग्दछु।’

विज्ञप्तिमा उनले बिष्टले नड्डासँग छलफल मुद्दाहरूका प्रस्तुति र उठानमाथि पनि प्रश्न गरेका छन्। विशेषगरी सांसदलाई दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान र ११ जातगोष्ठीलाई जनजातिको मान्यता प्रदानको मुद्दाको याद चुनाउको छेउमा मात्र आउने गरेका बताएका छन्।

साथै यी मुद्दाहरूमाथि ठोस काम के भएको छ, त्यो सांसदले भन्नुपर्ने विनयले बताएका छन्।

‘भाजपा नेतृत्वको आश्वासन सुन्दा स्पष्ट भएको छ, काम एक बित्ता पनि सरेको छैन। केन्द्रमा हाम्रा जनतलाई प्रतिनिधित्व गर्ने सांसदले कहिलेसम्म आश्वासनकै भरमा जनतालाई लट्याउने? कहिलेसम्म जनतालाई काम हुँदैछ भनेर भ्रममा राख्ने?’, मोर्चा दोस्रो खेमाका अध्यक्षले प्रश्न गरेका छन्।

यसरी गरी विनयले बिष्टलाई थप प्रश्न गर्दै सोधेका छन्, ‘दार्जीलिङ संसदीय क्षेत्रमा सन्त्रास र डरको माहोल कहाँ छ?’ यस्तै उनले दाबी गर्दै भनेको छ, ‘सन्त्रासको माहोल त भाजपाले बनाउने प्रयास गरिरहेको छ। जीटीए र राज्य सरकारले मिलेर पहाड़लाई शान्त राखेको छ। कोरोनाविरुद्ध काम असल तरिकाले भइरहेको छ।’

अर्कोतिर सांसद बिष्टले सानोभन्दा सानो विषयमा पनि मन्त्री र प्रधानमन्त्रीलाई पत्राचार गरेको छु भनेर विज्ञापन गरिरहेको तर कोरोना महामारीका कारण बेरोजगार भएका धेरै भाइबहिनीहरूलाई गरीब कल्याण योजनाअन्तर्गत अन्तर्भुक्त गर्न नसकेको, यस विषयमा भने अहिलेसम्म पत्राचार नै नगरेको विनयले बताएका छन्।

‘पहाड़मा बेरोजगारी दिनदिनै बढ़िरहेको छ। कम्पनीका महाप्रबन्धक सांसदले बेरोजगार समस्याको स्थायी समाधान गर्न, फर्केर आएका युवाहरूलाई सुनियोजित ढङ्गमा स्थायी आय हुने कार्यक्रमहरू केन्द्रबाट जुगाड़ गर्छ कि भनेर आशा गरेको उल्टै आफ्नै संसदीय क्षेत्रमा यो छैन र त्यो छैन भन्नु सांसद आफ्नो क्षेत्रमा पूर्ण रूपले विफल भएको देखिँदैछ। सांसदको रूपमा राजु बिष्ट पूर्ण रूपले विफल भएका छन्। दार्जीलिङ संसदीय क्षेत्रले सांसद राजु बिष्टबाट केही उपलब्धि पाएको छैन’, तामाङले थप भनेका छन्, ‘स्वास्थ्य सेवा ठीक छैन भनेर गुनासो पोख्नु सांसद काम हो कि ठीक नभएको सेवालाई कसरी ठीक पार्नु? अनित थापाले सानो प्रशासनबाट त्रिवेणीमा कोभिड अस्पताल स्थापना गरे। सांसदले जाबो एउटा टेस्टिङ ल्याब ल्याउनु नसक्ने? सांसदले दोष दिनुबाहेक, विज्ञप्ति छाप्नुबाहेक अरू ठोस के काम गरेका छन्? बङ्गाल सरकार र जीटीएलाई दोष दिएर आफ्नो विफलता लुकाउनु हुन्न।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here