पाँच बुँदे माग शीघ्र पूरा गर्नुपर्ने नगरपालिका कर्मचारी सङ्गठनले दोहोऱ्यायो माग

0
1150

दार्जीलिङ, १० जुलाईः दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले आफ्ना पाँच बुँदे माग शीघ्र पूर्ण नभए आउँदा दिनमा नगरवासीले स्ट्रीट लाइट, पानीको समस्यासँगै मैलाको दुर्गन्धको पनि सामना गर्नुपर्ने चेताउनी दिएको छ।

नगरपालिका कर्मचारी सङ्गठनले विगत निकै समयदेखि नगरपालिकामा रहेका १९५ वटा रिक्त पदमा नियुक्ति गर्नुपर्ने, १२९ जना कर्मचारीको स्थायीकरणको अनुमोदन अझैसम्म सरकारबाट नआएको, दैनिक रोजमा कार्यरत् कर्मचारीहरूलाई पे-ब्याण्ड कर्मचारीको दर्जा दिनुपर्ने, नत्र उनीहरूको रोजी बढ़ोत्तरी गर्नुपर्ने साथै वर्ष २०१७-को आन्दोलनकालको स्थायी कर्मचारीहरूको ३८ दिनको रोजी र दैनिक रोजमा काम गर्ने कर्मचारीहरूको ६० दिनको रोजी भुक्तान गर्नुपर्ने माग गर्दै आइरहेको छ।

यी मागहरूका लागि नै कर्मचारी सङ्गठनले नगरपालिका प्रशासनलाई आजसम्मको अल्टिमेटम दिएको थियो। तर, यी मागहरू विषय लिएर दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका नेता एनबी खवासले राज्यका मन्त्रीसित भेट गरी कुरा राखिदिने वचन दिएपछि नगरपालिका कर्मचारी सङ्गठनले आफ्नो अल्टिमेटमलाई पनि केही दिनका लागि स्थगित गरेको सङ्गठनका सचिव प्रणय शर्माले बताए।

उनले भने, “हामीले दार्जीलिङ नगरपालिका र यहाँ कार्यरत् कर्मचारीहरूको हितलाई ध्यानमा राखेर नै विभिन्न कार्यक्रम गरिरहेका छौं। यति मात्रै होइन, नगरवासी जनताको हितलाई पनि हामीले विशेष ध्यानमा राखेका छौं। यसैकारण दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले दार्जीलिङ नगरपालिकालाई महानगरपालिकाको दर्जा दिनुपर्ने पनि माग गरिरहेको छ।’’

यसका लागि दार्जीलिङ पहाड़का सबै राजनीतिक पार्टीले पनि एकै स्वरमा आवाज उठाइदिनुपर्ने पनि उनले माग गरेका छन्।

उनले भने, “दार्जीलिङ नगरपालिकालाई महानगरपालिकाको दर्जा दिनुपर्ने माग उठेको धेरै वर्ष भइसक्यो, तर आजसम्म पनि यसमाथि कुनै ठोस पहल भएको छैन। यसैले अब सबै पार्टी एकसाथ बनेर यसका लागि पहल गर्न आवश्यक छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here