दार्जीलिङ, १५ जुलाईः घरमा सोहन थिएनन्, छोराले माध्यमिक परीक्षामा राज्यमै सातौं स्थान प्राप्त गरेको सबैभन्दा पहिला आमा-बाबाले टेलिभिजनमार्फत् थाह पाए। त्यसपछि छोरालाई यसबारे जानकारी गराए।
त्यसबेलासम्म ठूलो खुशीले घरलाई छ्याप्पै छोपिसकेको थियो। आमा-बाबा एकअर्कालाई हेरेर रमाइरहेका थिए। उनीहरूको अनुहार छोरोको यो ठूलो उपलब्धिमा धपक्क बलेको थियो।
सानैदेखि मेधावी विद्यार्थी सोहन तामाङ मालदा जिल्ला स्कूलका विद्यार्थी हुन्। अत्यन्त परिश्रमी सोहनले यस वर्षको माध्यमिक परीक्षामा ९८ प्रतिशत अङ्कसहित सातौं स्थान प्राप्त गरेका छन्। उनले कुल ७०० अङ्कमा ६८६ अङ्क ल्याएका छन्। सोहनले गणितमा १००, बङ्ग्लामा ९९, अङ्ग्रेजीमा ९९, भूगोलमा ९९, इतिहासमा ९८, भौतिक विज्ञानमा ९३ र जीव विज्ञानमा ९८ अङ्क प्राप्त गरेका छन्।
‘परीक्षाफल घोषणा हुनअघि नै मलाई लागेको थियो, म अवश्यै शीर्ष -१० मा आउनेछु’, जनसंवादसँग बोल्दै सोहन भन्छन्, ‘सातौं स्थान प्राप्त गरेको छु। मैले रात-दिन गरेर पढ़ेको फल प्राप्त गरेको छु। खुशी अत्यधिक लागेको छ। खुशीभन्दा बढ़्ता अब भविष्यमा यस योभन्दा ठूलो सफलता प्राप्त गर्ने प्रेरणा प्राप्त भएको छ।’
सोहनको सपना भनेको नेशनल डिफेन्स एकाडेमी जोइन गरी एयरफोर्सका पायलट हुने हो। उनी थप्छन्, ‘एयरफोर्स पायलट बन्ने सपना हो। यो सपना अवश्यै पूरा गर्नेछु।’ प्रतिदिन ११-१२ घण्टा पढ़ेपछि यो सफलता प्राप्त गर्नसकेको मिहिनेती सोहन बताउँछन्। ‘सफलता प्राप्त गर्न परिश्रमी हुनैपर्छ’, उनी भन्छन्।
सोहन सानैदेखि मेधावी विद्यार्थी हुन्। पहिलो श्रेणीदेखि जहिल्यै पहिलो हुने उनले स्कूलमा कसैलाई उछिन्न दिएनन्।
अब मालदा जिल्ला स्कूलमै विज्ञान विषय लिएर पढ़्ने सोहनले बताएका छन्, त्यसपछि एनडीए जोइन गर्ने उनको योजना छ।
आफ्नो सफलताका लागि उनले आमा-बाबा र आफ्ना शिक्षकहरूलाई श्रेय दिएका छन्। उनीहरूबाटै निरन्तर प्राप्त मार्गनिर्देशन र शिक्षाकै कारण आफू राज्यमा सातौं स्थान प्राप्त गर्न सफल भएको सोहनको ठम्याइ छ।
सोहनका बाबा लालबहादुर तामाङ चिन्तामणि चमत्कार प्राथमिक पाठशालाका शिक्षक हुन्। उनीहरू स्थानीय इङ्ग्लिस बजारनिवासी हुन्। आफ्ना छोराको उपलब्धिमा उनी भन्छन्, ‘छोरोको सफलताले हामी धेरै खुशी छौं। उ सानैदेखि मेधावी हुन्। यसैले पनि उनले परीक्षा राम्रै गर्छ भन्ने कुरामा हामी ढुक्क थियौं।’