गान्तोक, १५ जुलाईः रङ्गेली ग्रेफ क्याम्पमा कोरोना सङ्क्रमणको मामिला बढ़िरहेको छ। आज (बुधबार) पनि त्यस क्याम्पका ९ जना कोरोना सङ्क्रमित पाइएको छ।
यसका साथै दुई अन्य गरी आज राज्यमा ११ नयाँ मामिला थपिएको छ। कोरोना सङ्क्रमित पाइएका अन्य दुईजना क्वारेन्टाइन सेन्टरमा रहेका हुन्।
जानकारीका अनुसार एकजना पूर्व सिक्किमको ए.टी.टी.सीस्थित क्वारेन्टाइन सेन्टर तथा अर्का रम्फूनजिक ईको प्याराडाइस क्वारेन्टिन सेन्टरका हुन्।
यसैगरी राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या २०९ पुगेको छ, जसमध्ये ८७ जना स्वस्थ भएर घर फर्किसकेका छन्। अहिले सिक्किममा कोरोना भाइरसको एक्टिभ केस १२२ रहेको छ।
अर्कोतिर, आजका दिनसम्म सिक्किममा कोरोना भाइरसको सङ्क्रमण समुदायसम्म नपुगेको (कम्युनिटी ट्रान्समिशन नरहेको) स्वास्थ्य विभागको दाबी छ।
विभागका सचिव एवं महानिर्देशक डा. पेम्पा टी. भोटियाले हालसम्म राज्यमा कम्युनिटी ट्रान्समिशन नरहेको बताएका छन्।
यसका साथै उनले रङ्गेलीमा पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरूका सम्पर्कमा रहेका मानिसहकरूको खोजी गरी जाँच प्रक्रियालाई अघि बढ़ाएको जानकारी गराएका छन्।
डा. भोटियाका अनुसार स्वास्थ्य विभागको टोली रिनाक र रङ्गेली क्षेत्रमा जुटेको छ भने कोरोना सङ्क्रमित पाइएका व्यक्तिहरूका सोझो सम्पर्कमा आएकाहरूको एन्टिजेन जाँच भइरहेको छ।