खरसाङ, १५ जुलाईः खरसाङ महकुमा क्षेत्रमा पाँचजना कोरोना सङ्क्रमित पाइएको छ। जसमध्ये दुईजना तीनधारेका हुन् भने तीनजना खरसाङस्थित मकैबारीमा निर्माणाधीन एक ठूलो निर्माणकार्यमा कार्यरत् बाहिरका मजदुर हुन्।
यसको जानकारी सुकना ब्लक प्राथमिक स्वास्थ्य केन्द्रका बीएचएमओले दिएका हुन्।
मकैबारीमा कोरोना सङ्क्रमित पाइएका तीनैजना बिहार र मुर्शिदाबादनिवासी हुन्। उनीहरू मकैबारीमा चलिरहेको एक निर्माणकार्यमा काम गर्नका लागि आएका थिए। जानकारीका अनुसार केही दिनअघि मकैबारी आइपुगेका यी तीनैजना क्वारेन्टाइनमा थिए।
अर्कोतिर, तीनधारेमा कोरोना सङ्क्रमित पाइएकामध्ये एकजना स्थानीय आउटपोस्टका पुलिस अधिकारी पनि छन्।
जानकारीका अनुसार यी पुलिस अधिकारी अफिसियल कामले गर्दा केही दिनअघि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल गएका थिए। अर्का कोरोना सङ्क्रमित महिला भने बिहारबाट घर फर्केकी थिइन्।
पाँचैजनालाई आज उपचारका लागि सिलगढ़ी कोभिड अस्पताल लगिएको छ।
अर्कोतिर आजै अग्निशमन विभागले कोरोना सङ्क्रमित पाइएका क्षेत्रमा सेनिटाइज गरेको छ।