सिलगढ़ी, १६ जुलाईः सिलगढ़ीमा थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सुकनानिवासी रहेको बताइएको छ।
यी ५६ वर्षीय व्यक्तिको आज बिहान उपचाररत् अवस्थामा दिसन कोभिड अस्पतालमा मृत्यु भएको हो। अवस्था गम्भीर बनेको कारण आईसीयूमा उनको उपचार चलिरहेको थियो।
जानकारीका अनुसार लिवरसम्बन्धी समस्याका कारण उनलाई पछिल्लो २ जुलाईका दिन उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो।
शुरूमा उनलाई मेडिसिन वार्डमा राखेर उपचार गरिँदै थियो तर शारीरिक अवस्था झनै खस्केपछि उनलाई क्रिटिकल केयर युनिट (सीसीयू)-मा स्थानान्तर गरिएको थियो।
यसैबीच, १० जुलाईका दिन उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएपछि तत्कालै कावाखालीस्थित दिसन कोभिड अस्पतालमा उपचारका लागि रेफर गरिएको थियो, त्यसै दिनदेखि उनी यस कोभिड अस्पातलमा उपचाररत् थिए भने आज बिहान उनको मृत्यु भएको हो।
पारिवारिक सूत्रमार्फत् प्राप्त जानकारीका अनुसार कोरोना सङ्क्रमित पाइएका यी व्यक्ति लिभरलगायत अन्य बिमारले पनि ग्रसित थिए। उल्लेखनीय छ, उनी सन्त मेरी ग्राम पञ्चायत-तीनमा पञ्चायत सचिवको पदमा कार्यरत् थिए।