बन्सल अधीनस्थ चियाकमानहरूका समस्या विषय बसिएको बैठकमा नबोलाएकोमा जोइण्ट फोरमको आपत्ति

0
1027
सुनिल राई (फाइल फोटो)।

दार्जीलिङ, १६ जुलाईः बन्सल ग्रुप अधीनस्थ चियाकमानका विविध समस्यालाई लिएर प्रशासनले विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठनलाई मात्र बोलाएर बैठक गरेकोमा जोइण्ट फोरमले विरोध जनाएको छ।

यसका साथै आउँदा दिनमा चियाकमानसित सम्बन्धित कुनै पनि समस्या विषयमा श्रमिक सङ्गठनसित वार्ता गरिएमा सबै पञ्जीकृत श्रमिक सङ्गठनलाई निमन्त्रणा गर्नुपर्ने जोइण्ट फोरमको माग छ।

जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले आज यसैबारे पत्रकारहरूसित कुराकानी गर्दै बन्सल ग्रुप अधीनस्थ चियाकमानका श्रमिकहरूको भविष्यनिधि कोष जमा नगरिएको, अवकाशप्राप्त श्रमिकहरूलाई ग्रेच्युटीको राशि नदिइएको विषय मुख्य रहेको बताए।

तर, यस विषयमाथि गोजमुमोको श्रमिक सङ्गठनले खासै श्रम विभाग र चियाबगान मालिकपक्षसित कुरा नगरेको पनि उनले आरोप लगाए।

राईले भने, “१२ जुलाईका दिन नै जोइण्ट फोरम, चियाकमान मालिकपक्ष र श्रम विभागमाझ एक बैठक भएको थियो, जसमा बन्सल ग्रुप अधीनस्थ चियाबगानका श्रमिकहरूको बाँकी रोजी भुक्तान गर्ने तय भएको थियो। तर त्यसै विषय लिएर फेरि १४ जुलाईका दिन किन गोजमुमोको श्रमिक सङ्गठनलाई मात्रै बोलाएर बैठक गरियो? यसप्रकारको बैठक गर्ने तरिकाको जोइण्ट फोरमले विरोध गरेको हो।’’

उनले जोइण्ट फोरमले बन्सल ग्रुप अधीनस्थ सबै चियाकमानका प्रतिनिधिहरूलाई बोलाएर यस महिनाभित्र एक बैठक गर्ने अनि भावी रणनीतिको घोषणा गर्ने योजना बनाइएको पनि बताए।

उल्लेखनीय छ, यसै विषय लिएर हिजो (बुधबार) बन्सल ग्रुप अधीनस्थ चियाकमानका मालिकपक्ष, श्रम विभाग र गोजमुमोको श्रमिक सङ्गठनमाझ स्थानीय जिल्लापाल कार्यालयमा एक बैठक सम्पन्न भएको थियो।

निकै लामो चर्चा-परिचर्चापछि  चियाकमान मालिकपक्ष ४ जुलाईमा दिनुपर्ने श्रमिकहरूको रोजी १७ जुलाईका दिन भुक्तान गर्ने, ११ जुलाईमा दिइने रोजी २४ जुलाईको दिन भुक्तान गर्न राजी बनेको थियो।

यसका साथै आउँदो २१ जुलाईभित्र चियाकमानका कर्मचारीहरूको वेतन पनि भुक्तान गर्ने छलफल भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here