मङ्गनको जनता मेलाबाट विपक्षी दलमाथि चामलिङको कटाक्ष, भने – राज्यका विपक्षी दलहरू बिक्री हुँदैछन्

0
1406
जनता मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङ।

मङ्गन, 20 जनवरी : भारतीय जनता पार्टी (भाजपा)-को सिक्किम चुनाउ प्रसार समितिका प्रभारी नितिन नविनले राज्यका सबै विपक्षी पार्टीका नेताहरू आइतवार गान्तोकमा बैठक गरिरहेको समयबीचै मुख्यमन्त्री पवन चामलिङले यो बैठकलाई लिएर कड़ा प्रतिक्रिया व्यक्त गरेका छन्।

मङ्गनको खेल मैदानमा उत्तर सिक्किमका तीनवटा निर्वाचन क्षेत्रका लागि आयोजन गरिएको जनता मेलाको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, “आज दिल्लीबाट एकजना खरिदे आएका छन्। आज राज्यका सबै विपक्षी पार्टीहरूको दाम लाग्दैछ। को कतिमा बिक्री हुने हुन्, मैले पहिलादेखि नै भन्दै आएको हुँ, यिनीहरूको मालिक सिक्किममा छैन। आज प्रमाण भयो, यिनीहरूको मालिक बाहिर छन् भन्ने।”

चामलिङले अझ भने, “हामीले पार्टी खोलेको 27 वर्ष भयो। सरकार चलाएको 24 वर्ष पूरा हुँदैछ, तर कहिले पनि हामीले हाम्रो पार्टीलाई कुनै खरिदेसँग बिक्री गरेका छैनौं। र गर्ने पनि छैनौं। हाम्रो मालिक भनेको सिक्किम र सिक्किमेली जनता हुन्।

तीनदिन अघि जोरथाङ माघे मेलामा भएको पुलिस र जनताबीचको झड़पमाथि पनि उनले पहिलोचोटि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, “मैले आज डीजीपी, डीसी र गृहसचिवलाई जोरथाङकाण्डबारे उचित जाँच गर्ने निर्देश दिएको छु। यो घटनामा जो पनि दोषी छन्, उनीहरूलाई कानूनको कठघरामा उभ्याउन पर्छ। पुलिसको पनि गल्ती छ भने निलम्बित गर्ने मैले निर्देश दिएको छ, तर यो घटनामा एसकेएम पार्टी संलग्न भएको रिपोर्ट आएको छ। केही पक्राउ परेका छन्, तर मुख्य दोषी सातजना भागेका छन्। उनीहरू एसकेएम समर्थक रहेको सूचना मेरोमा छ। एसकेएमले सिक्किममा अशान्ति मच्चाउँदैछ। पुलिस र जनताबीच झड़प गराउँदैछ।”

एसकेएम पार्टीमाथि खनिँदै चामलिङले अझ भने, “परिवर्तनको नाममा राज्यमा एसकेएम पार्टीको सरकार भयो भने यिनीहरूले सिक्किमे जनतालाई पानीबिनाको माछा बनाउनेछन्। सिक्किममा अशान्तिको बीज रोप्नेछन्। यिनीहरूबाट सिक्किमलाई बचाउनुपर्छ। जनताले यिनीहरूको ट्र्याक रेकर्ड हेर्नुपर्छ।”

एसकेएम पार्टीमा कस्ता मानिसहरू छन् भन्ने मुख्यमन्त्रीले परिभाषा दिँदै भने, “विधायक हुनचाहने महत्त्वाकांक्षी मानिसहरू त्यहाँ छन्। एउटा निर्वाचन क्षेत्रबाट 10-12 जना उम्मेद्वार हुन कुद्दैछन्। बदमाश, भ्रष्ट, गुण्डा जम्मै त्यहाँ छन्। अनि यिनीहरूको पछि सिक्किमबाहिरको शक्ति छ। चौकीमा हुँदा जनताको काम नगर्ने, जनतालाई दुःख दिने अवकाशप्राप्त कर्मचारीहरू त्यहाँ भेला भएका छन्। केही न केही आपराधिक काम गरेर जेल बसेकाहरू, दुष्कर्मीहरू, चार्जशीटमा नाम भएकाहरू र आरोपीहरू त्यहाँ भेला भएका छन्। उनीहरू त्यहाँ भेला भएको मुख्य कारण त्यो पार्टीका नेता नै दोषी भएर जेल बसिसकेकोले हो।”

युवाहरूलाई आगामी चुनाउमा एसडीएफ पार्टीलाई साथ दिने अपील गर्दै मुख्यमन्त्रीले भने, “सिक्किम बचाउनका लागि युवाहरू अघि आउनपर्छ। सिक्किमलाई बर्बाद पार्ने शक्तिहरू तयार हुँदैछन्। युवाहरू जिम्मेवार भएर अघि आए मात्र सिक्किम राम्रो हुन्छ। र बाहिरी शक्तिदेखि सिक्किम बच्नेछ।”

उत्तर सिक्किमको विकाससम्बन्धी बोल्दै उनले भने, “एसडीएफ सरकारले उत्तर सिक्किममा विकासका धेरै काम गरिसकेको छ। अब एउटा ठूलो केही पूर्वाधार निर्माण गर्नुछ। त्यो आउँदो सरकारमा गरिनेछ। जङ्गुको पवित्रतालाई बचाइराखेर त्यहाँ राजनीतिक रूपमा पनि पवित्रता बचाइनेछ। विगतमा जसरी एसडीएफ पार्टीले जङ्गुबाहिरबाट ल्याएर कसैलाई यहाँका उम्मेद्वार बनाएको छैन, त्यसरी नै आगामी चुनाउमा पनि जङ्गुकै व्यक्तिलाई उम्मेद्वार बनाइनेछ।”

कार्यक्रममा महत्त्वपूर्ण घोषणा गर्दै मुख्यमन्त्रीले भने, “हामी दशौं श्रेणीदेखि माथिका विद्यार्थीहरूलाई ल्यापटप वितरण गर्दैछौं। यसलाई धारावाहिक राखिनेछ, तर आगामी वर्षदेखि महाविद्यालय स्तरका विद्यार्थीहरूलाई ‘एण्ड्रोइड फोन’ वितरण गरिनेछ।” मुख्यमन्त्रीले कार्यक्रममा सिक्किमको विकाससम्बन्धी पनि कुरा राखे भने उत्तर सिक्किमका तीनैवटा निर्वाचन क्षेत्रका जनतालाई राज्य सरकारका विभिन्न योजनाअन्तर्गत जनता मेलामार्फत् सहुलियत वितरण गरियो। कार्यक्रममा ग्रामीण प्रबन्धन एवं विकास विभागका सचिव सीएस रावले स्वागत सम्बोधन गरेका थिए।

अर्कोतिर यसैअवसरमा मुख्यमन्त्रीले तीनवटा महत्त्वपूर्ण पूर्वाधारको उद्घाटन पनि गरे। उनले मङ्गन बजारमा 15 टन क्षमता भएको कोल्ड स्टोरेज तथा जैविक कृषि बजार, मङ्गन जिल्ला अस्पतालमा ट्रोमा सेन्टर र 50 पलङ भएको टिबी अस्पताल कक्षको उद्घाटन गरे।   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here