जनजाति र स्थायी राजनीतिक समाधानको मुद्दा पूरा गरेरै छाड़्ने भाजपाको आश्वासन

0
1065

दार्जीलिङ, १७ जुलाईः पछिल्लो लोकसभा चुनाउअवधि आफ्नो सङ्कल्प-पत्रमा वाचा गरेका जनजातिको मान्यता र स्थायी राजनीतिक समाधानको मुद्दालाई पूरा गरेरै छाड़्ने आश्वासन भाजपाका राष्ट्रिय अध्यक्ष जे.पी. नड्डा र राष्ट्रिय महासचिव बी.एल. सन्तोषले दिएका छन्।

विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका एक प्रतिनिधि टोलीले बिहीबार राति नड्डा र सन्तोषसँग भेटवार्ता गरेका थिए।

यसै भेटवार्ताअवधि उनीहरूले गोर्खाहरूलाई दिएको प्रतिबद्धता पूरा गर्न भाजपा सङ्कल्पित रहेको दावी गरे।

विमलपन्थी मोर्चाका साङ्गठनिक सचिव निमा तामाङले जानकारी गराएअनुसार प्रतिनिधि टोलीले भाजपाका यी दुवै नेतासमक्ष स्थायी राजनीतिक समाधान र जनजातिको मान्यताको मुद्दालाई यसै वर्ष (२०२०) भित्र यथाशीघ्र पूरा गर्नुपर्ने माग गरेको थियो।

निमा तामाङका अनुसार प्रतिनिधि टोलीको मागलाई ध्यानपूर्वक सुनेपछि नड्डा र सन्तोषले  भाजपाले आफ्नो सङ्कल्प-पत्रमा समावेश गरेका मुद्दाहरूलाई लगातार पूरा गर्दै आएको तर सङ्कल्प-पत्रमा समावेश गरिएका गोर्खाहरूका दुई मुद्दालाई भने सरकारले सम्बोधन गर्न विलम्ब भइरहेको आफूहरूले पनि महसुस गरिरहेको बताए।

यसैगरी भाजपा नेताद्वयले सङ्कल्प-पत्रमा समावेश गरिएका दुवै मुद्दालाई पूरा गरी गोर्खाहरूलाई न्याय दिन भाजपा दृढ़ सङ्कल्पित रहेको दाबी गरेको उनले बताएका छन्।

देशमा धेरै कुराको निर्णय लिँदा केही विलम्ब भए तापनि गोर्खाहरूलाई विचलित नबनिदिने भाजपा राष्ट्रिय अध्यक्ष जे.पी. नड्डा र महासचिव बी.एल. सन्तोषले अपील गरेको पनि तामाङले एक विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

प्रतिनिधि टोलीमा निमा तामाङ र डा. बिनु सुन्दासलगायत अन्य थिए।

उल्लेखनीय छ, विमलपन्थी मोर्चाले यी दुई मुद्दालाई चाँड़ोभन्दा चाँड़ो पूरा गर्ने माग गर्दै भाजपाका राष्ट्रिय नेता र केन्द्रिय मन्त्रीहरूसमक्ष पटक पटक ज्ञापन चढ़ाउँदै आइरहे तापनि अहिलेसम्म यी दुई मुद्दालाई फत्ते गर्नका लागि भाजपाले कुनै प्रकारको ठोस पहल गरेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here