कालेबुङ, १७ जुलाईः २०२१ मा हुने बङ्गाल विधानसभा चुनाउका लागि अहिले पर्याप्त समय छ। यद्यपि राजनीतिक दलहरूले अहिलेदेखि नै साङ्गठनिक सक्रियता बढ़ाउन शुरू गरिरहेको छ।
२१-को विस चुनाउ केन्द्र गरी पहाड़का राजनीतिक दलहरूले पनि साङ्गठनिक सक्रियता पनि बढ़ाएका छन्। यस्तोमा गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफ्नो पार्टीले विधानसभा चुनाउका लागि पहाड़का तीनैवटा आसनका लागि उम्मेदवार चिह्नित गरिसकेको बताएका छन्।
उनले आज कालेबुङमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बयान दिएका हुन्। ‘‘कालेबुङले एक अब्बल, सशक्त र कालेबुङको मात्र होइन, तर पहाड़कै अनुहार उम्मेदवारको रूपमा पाउनेछन्, हामीले आशा साँचेका छौं’’, विनयले थपे, ‘‘यसको सङ्केत आजको बैठकमा मैले दिएको छु। हामीले कालेबुङका लागि उम्मेदवार चिह्नित गरिसकेका छौं।’’
एक प्रश्नको उत्तरमा उनले खरसाङ र दार्जीलिङका लागि पनि पार्टीले एमएलए उम्मेदवार चिह्नित गरिसकेको बताए।
अर्कोतिर, २०१९ मा प्राप्त हारमाथि आफ्नो पार्टीले चिन्तन मनन गरेको बताउँदै २०१९ मा हारेजस्तो ‘सायद २०२१ देखि उसो हार’ नहुने पनि तामाङले बताए। ‘‘हाम्रो कमी कमजोरी हामी हटाएर जानेछौं’’, उनले भने।
विनयले कालेबुङका लागि पार्टीले अहिले नै एमएलए उम्मेदवार चिह्नित गरेको बताए तापनि ती उम्मेदवारबारे धेरै कुरा खुलाएनन्।
उल्लेखनीय छ, आज कालेबुङस्थित पाइन ट्री रिसर्टमा एक बैठक आयोजन गरी गोजमुमोको कालेबुङ जिल्ला समिति पुनर्गठन गरिएको छ, जुन समितिमा सी.बी. गुरुङलाई अध्यक्ष, निर्वाचित गरिएको छ।
अर्कोतिर २०२१ मा हुने बङ्गाल विधानसभा चुनाउ र त्यसपछि अन्य चुनाउहरूका लागि अहिलेदेखि नै आफ्नो पार्टीले ठाउँ ठाउँमा चुनावी कमिटीहरू गठन गर्ने पहल शुरू गरेको र आज आधिकारिक रूपमा कालेबुङको कमिटी गठन र चुनाउसम्बन्धी अन्य विषयका लागि सेण्डुप भोटियालाई संयोजक चयन गरिएको पनि बताएका छन्।
यसैगरी कालेबुङ टाउन कमिटी गठन गर्नका लागि पङ्कज छेत्रीलाई मुख्य संयोजक मनोनीत गरिएको पनि विनयले पत्रकारहरूलाई बताए।
यसका साथै उनले कालेबुङ जिल्लामा पार्टीले कालेबुङ सदर, अलगढ़ा-पेदोङ र गोरुबथान-कुमाई-जलढका गरी तीनवटा महकुमा समिति गठन गर्ने बताए।