दार्जीलिङ, १८ जुलाईः दार्जीलिङ प्रेस गिल्डको एन्थमले इण्डिया बुक अव् रेकर्डमा दर्ता हुने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आज दार्जीलिङ प्रेस गिल्डले आफ्नै कार्यालयमा एक हर्ष समारोह पालन गऱ्यो।
यसै कार्यक्रमबीच एन्थमका लेखक, सङ्गीतकार, सङ्गीत संयोजक साथै गायक-गायिकाहरूलाई पनि सम्मान जनाइयो।
उल्लेखनीय छ, दार्जीलिङ प्रेस गिल्ड देशमै आफ्नो एन्थम तयार पार्ने प्रथम प्रेस क्लब बनेको छ। जसअनुसार, इण्डिया बुक अव् रेकर्डबाट दार्जीलिङ प्रेस गिल्डलाई ससम्मान मेडल, प्रशंसा-पत्र आदि प्राप्त भएको छ।
यसै विषयमा खुशी व्यक्त गर्दै आज गिल्डमा एक कार्यक्रमको आयोजना गरियो, जुन कार्यक्रममा एन्थमको शब्दकार शरण गुरुङ, सङ्गीतकार आदित्या राया, सुरज गजमेर, शेरबहादुर, उपेन्द्र दर्नाल, सङ्गीत संयोजक एजाज अली, गायिकाहरू शोभना प्रधान, सङ्गीता गुरुङ साथै एन्थमका परिकल्पनाकार विवेक छेत्रीलाई सम्मान जनाइयो।
गिल्डका अध्यक्ष रविन राईको अध्यक्षतामा सम्पन्न गरिएको यस कार्यक्रमको सञ्चालन मोहन लामाले गरेका थिए।
ज्ञात रहोस्, गत वर्ष दार्जीलिङ प्रेस गिल्डको यो एन्थम सार्वजनिक गरिएको थियो, जसलाई इण्डिया बुक अव् रेकर्डमा दर्ता गराउनका लागि आवेदन गरिएको थियो, जसलाई इण्डिया बुक अव् रेकर्डमा दर्ता गरिएको केही सप्ताहअघि मात्रै स्पष्ट भएको थियो।
यसका साथै गत केही दिनअघि मात्रै इण्डिया बुक अफ् रेकर्डबाट दार्जीलिङ प्रेस गिल्डलाई यसका लागि प्रंशसा-पत्रका साथै मेडल आदि प्राप्त भएपछि प्रेस गिल्डले आज हर्ष कार्यक्रमको आयोजन गरेको हो।