दार्जीलिङ, १८ जुलाईः प्रधानमन्त्री आवास योजना (पीएमएवाई) -मा भ्रष्टाचारको आरोपको जाँच गर्नका लागि ग्रामीण विकास मन्त्री नरेन्द्रसिंह तोमरले केन्द्रीय टोली चाँड़ै पठाइरहेको सांसद राजु बिष्टले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।
उनले प्रधानमन्त्री आवास योजनामा व्यापक भ्रष्टाचार भइरहेका आरोपहरू जनताबाट प्राप्त भएपछि यस सम्बन्धमा केही समयअघि केन्द्रीय मन्त्री तोमरलाई पत्राचार गरेको र मन्त्रीबाट प्राप्त उत्तरमा घरहरूका आवण्टन र यसमा भइरहेको भ्रष्टाचारको जाँच गर्नका लागि केन्द्रीय टोली पठाइरहेको बताएको बिष्टको दावी छ।
मन्त्रीलाई लेखेको पत्रमा पीएमएवाई आवासहरूको निर्माणका लागि कोषको आवण्टन र प्रयोगमा निरीक्षणको कमी, शक्तिशाली वर्गद्वारा व्यापक भाइ-भतीजावाद, र सत्ताधारी पार्टीका समर्थकहरूलाई आवास आवण्टनमा प्राथमिकताका दिएको कारण बहुसङ्ख्यक जनता यसबाट वञ्चित बनेको जानकारी गराएको पनि सांसदले बताएका छन्।
बिष्टका अनुसार उनले पत्रमा गरीब जनताका लागि केन्द्र सरकारद्वारा लागु योजनाबाट गरीब जनता नै वञ्चित भइरहेको र उनीहरूका सट्टामा स्थानीय सरकारको सम्पर्कमा हुनेहरू फाइदा उठाइरहेको पत्रमा उल्लेख गरेका थिए।
सांसदका अनुसार यसै पत्रको सन्दर्भमा केन्द्रीय ग्रामीण विकास मन्त्रीबाट उनले एक पत्र प्राप्त गरेका छन्, जसमा प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरहरूका आवण्टन भ्रष्टाचारका आरोपहरूको जाँच गर्न एउटा केन्द्रीय टोली खटाइरहेको जानकारी गराइएको छ।
‘जनताको भलाइका लागि आवण्टित पैसा खाने र पचाउने दिन अब गयो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो राष्ट्र भ्रष्टाचारमुक्त वातावरणको दिशामा बिस्तारै अघि बढ़्दैछ’, बिष्टले विज्ञप्तिमा लेखेका छन्, ‘दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रबाट जनताका प्रतिनिधिको रूपमा भ्रष्टाचारीहरूलाई जेलमा पुऱ्याउने कुरा सुनिश्चित गर्नु मेरो कर्तव्य हो।’
यसैगरी सांसद राजु बिष्टले दार्जीलिङ पहाड़ भ्रष्टाचारमुक्त र सुशासनयुक्त व्यवस्थामा रूपान्तरित हुने दावी पनि गरेका छन्।