दार्जीलिङ, १८ जुलाईः त्रिवेणीस्थित सेभियर एक्युट रेस्पिरेटरी इन्फेक्शन (सारी) अस्पताललाई राज्य सरकारले बढ़ोत्तरी गरी कोभिड अस्पताल बनाएको छ।
राज्यको स्वास्थ्य सेवा निर्देशालयले आज एक अधिसूचना जारी गरी त्रिवेणी सारी अस्पताललाई १२५ पलङको कोभिड अस्पतालमा बढ़ोत्तरी गरिएको बताइएको छ।
उल्लेखनीय छ, पछिल्लो २२ जूनका दिन त्रिवेणी अस्पतालको उद्घाटन गरिएको थियो।
यसैबीच त्रिवेणी अस्पताललाई आधिकारिक रूपमा कोभिड अस्पतालको रूपमा बढ़ोत्तरी गरिएपछि जीटीए बीओएका अध्यक्ष अनित थापाले खुशी प्रकट गरेका छन्।
‘होहल्लाभन्दा बढ़ी काम बोल्छ। म बोलीमा भन्दा बढ़ी कर्ममा विश्वास गर्छु। हामीले त्रिवेणी अस्पताल शुरू गरेदेखि नै यो अस्पताल हाम्रो पहाड़का जनताका लागि पूर्ण कोभिड अस्पताल बनाउने योजना बनाएका थियौं’, उनले थप भनेका छन्, ‘शुरूमा यो अस्पताल सारी अस्पतालको रूपमा सञ्चालन भयो र अहिले यो पूर्ण कोभिड अस्पतालमा रूपान्तर भएको छ।’
अर्कोतिर थापाले अस्पतालका शुरूआती दिनहरूमा धेरैले आफूहरूका सङ्घर्ष र परिश्रममाथि आलोचना गरेको, हौसलालाई डगमगाउन आफूहरूमाथि धेरे औंलाहरू उठाइएको बताउँदै तर ती सबैप्रति आफूहरू धन्यवादी रहेको बताएका छन्।
‘हामीले उनीहरूको आलोचनालाई गम्भीरतापूर्वक लियौं र त्यसमाथि काम गऱ्यौं। त्यसैको फल हामी देख्दछौं। हाम्रा प्रयासहरू व्यर्थमा गएन। हामीले भिजनिङ गरेअनुसार नै त्रिवेणी अस्पताल अहिले कोभिड अस्पताल बनियो’, जीटीए बीओएका अध्यक्षले थप भनेका छन्, ‘म विश्वास गर्छु, यदि पूर्ण समर्पणसहित कार्य गऱ्यौं भने सठिक समयमा असल फल भोग्न पाइन्छ। तथापि म पहाड़का मेरा प्यारा जनतालाई अघि आएर जीटीएसँग एकजुट भएर काम गर्ने निमन्त्रणा दिन्छु। हाम्रो एकसाथको कामले जीटीए क्षेत्रमा धेरै सकारात्मक परिवर्तन ल्याउन सक्छौं।’
यसैगरी अनित थापाले सबैको उद्देश्य र प्रयास मिलेको खण्डमा क्षेत्रमा उच्च कोटिको परिवर्तन गर्नसकिने बताएका छन्।