निरङ्कुश सरकारलाई हटाउन जनता एक हुनुपर्छ : पीएस गोले

0
3043
जनतालाई सम्बोधन गर्दै एसकेएम अध्यक्ष पीएस गोले।

गान्तोक, 20 जनवरी : राज्यको सत्तारूढ़ दल सिक्किम डेमोके्रटिक फ्रण्ट (एसडीएफ)-लाई  तानाशाही र निरङ्कुश सरकारको संज्ञा दिँदै यस्तो ‘निरङ्कुश र तानाशाही’ सरकारलाई हटाउन जनता एकबद्ध भएर अघि आउनुपर्ने अपील विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का अध्यक्ष पीएस गोलेले गरेका छन्। आइतवार परिवर्तन सङ्कल्प यात्राको दोस्रो दिन तिमी नाम्फिङ निर्वाचन क्षेत्रको बर्मेक जीपीयूस्थित पालक पोसी वार्डका जनतालाई सम्बोधन गर्दै गोलेले यस्तो आह्वान गरेका हुन्।

यसअवधि एसकेएम अध्यक्ष  एसडीएफप्रति आक्रामक देखिए। साथै उनले एसडीएफ सरकारले विकासको झूटो बखान गरेर जनतालाई दिग्भ्रमित पारिरहेको पनि बताए। आफ्नो सम्बोधनमा गोलेले जैविक खेतीको नाममा राज्यका जनता गरीब बनेको र जैविक खेतीको नाफा जति भने  मुख्यमन्त्रीको परिवारलाई मात्र भइरहेको गम्भीर आरोप लगाए। “25 वर्षसम्म तपाईंहरूले बनाएको सरकारले तपाईंहरूलाई अति गरीब बनायो। सन् 1994 -मा सिक्किमको जनता जस्तो थियो, अहिले पनि त्यस्तै छन्”, उनले थपे, “एसडीएफ सरकारको यो 25 वर्षमा कुनै पनि योजना थिएन। अहिले एसकेएम पार्टीले बनाएको योजनाबाट काम चलाउँदैछ। एसकेएम पार्टीको कारण सिक्किमे जनताले काम र फाइदा पाउँदैछन्। एसडीएफ पार्टीले हाम्रो योजना चोरेर काम गर्दैछ।”

एसडीएफ सरकारको खोइरो खन्ने क्रममा उनले भने, “चुनाउको  समयममा एसडीएफले पैसा बाँड़्ने कुरा गर्दैछ। कालो धनले जनता किन्ने पूरा कोशिश गर्दैछ। अब जनता होशियार बस्नपर्छ। सन् 1994 देखि नै विपक्षी दलका विधायकहरू एसडीएफले किन्दै आएको छ। एसडीएफले सधैँ जनतालाई धोका दिएको छ। धोका दिँदै आएको छ।”

एसकेएम अध्यक्षले जनतालाई सम्बोधन गर्दै क्रममा एसडीएफ सरकारको विकासको नाममा  एउटा धागोसम्म नपाएका गाउँहरू धेरै रहेको दाबी गरे। “सिक्किमका मुख्यमन्त्री भन्छन्, सिक्किम धेरै विकसित भएको छ। विकास र सहुलियतले भरिपूर्ण भएको छ भन्नुहुन्छ। मुख्यमन्त्री राज्यका कसैलाई दुःख छैन भन्नुहुन्छ, तर 25 वर्षमा एसडीएफ सरकारले नदेखेका गाउँ-ठाउँहरू पनि रहनेछन्”, उनले पालक पोसीको गाउँको सन्दर्भमा झिक्दै भने। यो वार्डका मानिसहरूलाई एसडीएफ सरकारले केवल भोट हाल्ने मशिनको रूपमा मात्र प्रयोग गर्दै आएको दाबी पनि गरे।

यो वार्डमा शेर्पाहरू बहुसङ्ख्यक भएकोले एसडीएफ सरकारले विकासबाट वञ्चित गरेको  हुनसक्ने आरोप पनि लगाए। साथै एसकेएम सरकारले शेर्पा जातिलाई न्याय दिने दाबीलाई दोहोर्‍याए। गोलेले यो वार्ड जनतालाई एसकेएमलाई जिताउने अपील गर्दै एसकेएम सरकारमा आएको खण्डमा पालक पोसी गाउँलाई विकास गरी यो गाउँलाई पर्यटनको क्षेत्रमा राज्यकै एक नम्बर गाउँ बनाउने आश्वासन दिए।

यसअवसरमा स्थानीय जनताको पक्षमा दावा छिरिङ शेर्पा र निम तेञ्जिङ शेर्पाले वार्डका समस्याहरू एसकेएम अध्यक्षसमक्ष  राखेका थिए। साथै आजसम्म एसडीएफ सरकारले यो गाउँको विकासका लागि कुनै ठोस कार्य नगरेको भन्दै एसकेएम पार्टीलाई शत प्रतिशत मत दिएर जिताउने वार्डवासीले प्रतिबद्धता जनाएको   प्रेस विज्ञप्तिमार्फत् एसकेएमका प्रचार-प्रसार महासचिव विकास बस्नेतले जानकारी गराएका छन्।

यसअवसरमा पार्टीका उपाध्यक्ष बेदुसिंह पन्त, अवकाश प्राप्त कर्मचारी मोर्चाका कादो छिरिङ भोटिया, प्रचार-प्रसार उपाध्यक्ष वीरेन्द्र तामलिङ दक्षिण जिल्लाका उपाध्यक्ष प्रभारी लोबजाङ भोटिया तथा अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here