बङ्गालका भाजपा सांसदहरूद्वारा गृहमन्त्रीसँग भेटवार्ता, चोपड़ा घटनाको सीबीआई जाँचको माग

0
1120

दार्जीलिङ, 20 जुलाईः बङ्गालका भाजपा सांसदहरूको एक प्रतिनिधि टोलीले आज (सोमबार) गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरी एक 15 वर्षीय छात्राको मृत्युलाई केन्द्र गरी उत्तर दिनाजपुरको चोपड़ामा व्यप्त तनाउलाई नियन्त्रणमा ल्याउन केन्द्रिय बल तैनाथ तथा मृत्युको घटनाको सीबीआई जाँच गराएर सत्य तथ्य अघि ल्याउन अनुरोध गरेको छ।

प्रतिनिधि टोलीमा केन्द्रिय राज्यमन्त्रीद्वय देवश्री चौधरी र बाबुल सुप्रियो, राज्यसभा सांसद स्वपन दासगुप्त र दार्जीलिङका सांसद राजु बिष्ट सामेल थिए।

भेटवार्ताअवधि प्रतिनिधि टोलीले गृहमन्त्री शाहलाई चोपड़ाको तनाउपूर्ण स्थितिबारे अवगत गराउनका साथै यथाशीघ्र हस्तक्षेप गर्ने अनुरोधसमेत गरेको थियो।

यसबारे सांसद बिष्टले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराउँदै भनेका छन्, ‘हामीलाई डर छ, यो तनाउपूर्ण स्थितिलाई समयमै नियन्त्रण नगरिए क्षेत्रमा साम्प्रदायिक तनाउ सिर्जना हुनसक्छ। जसले यस चिकन नेक क्षेत्रको शान्तिलाई बिथोल्न सक्नेछ। यसैले हामीले गृहमन्त्रीसँग चोपड़ाको तनाउपूर्ण स्थितिलाई साम्य बनाउनका लागि केन्द्रिय बल तैनाथ गर्ने तथा मृत्युको सत्य तथ्य उजागर गर्नका लागि सीबीआई जाँचको आदेश दिने माग गरेका छौं।’

यसैबीच, पोस्टमर्टम रिपोर्टमा छात्रासँग शारीरिक शोषण या दुष्कर्म गरिएको कुनै चिह्न प्राप्त नभएको भन्ने पुलिसको कुरालाई पनि गाउँलेहरूले स्वीकार्न नमानिरहेको बताउँदै उनले भनेका छन्, ‘पोस्टमर्टममा रिपोर्टमा बङ्गाल पुलिसले शारीरिक शोषण या दुष्कर्म भएको कुनै चिह्न प्राप्त नभएको भनिरहेको छ। तर, गाउँहरूको आरोपका अनुसार छात्राको शरीरमा दाग र घाँटीमा चोटको निशान थियो। यसैले पनि बङ्गाल पुलिस र प्रशासनमाथि गाउँलेहरूको विश्वास शून्य रहेको छ। उनीहरू यो रिपोर्ट स्वीकार्न तयार छैनन्।’

अर्कोतिर घटनाका मुख्य आरोपी मानिएका युवकको शव पनि छात्राको शव बरामद भएकै ठाउँ नजिकबाट बरामद भएकामा पनि बिष्टले प्रश्न गरेका छन्।

‘सबै स्रोतका बावजुद घटनाका मुख्य आरोपीलाई पुलिसले हिजै किन पक्राउ गरेन? आज कसरी उसको शव बरामद भयो?’, उनले भनेका छन्, ‘यस घटनाले क्षेत्रमा थप तनाउ बढ़ेको छ।’

यसैगरी प्रत्यक्ष र परोक्ष रूपमा पीड़ित परिवार र गाउँलेहरूलाई धम्की प्राप्त भइरहेकाले उनीहरू भयभीत बनिरहेका तथा केही नेताहरूद्वारा समर्थित असामाजिक तत्त्व चोपड़ाका मानिसहरूलाई आतङ्कित पार्न हातहतियार र गोलाबारुद बोकेर खुल्ला हिँड़िरहेको पनि विज्ञप्तिमा सांसद राजु बिष्टले आरोप लगाएका छन्।

अर्कोतिर, सांसदले चोपड़ाका मानिसहरूलाई आतङ्कित नबनिदिने अनुरोध गरेका छन्। साथै पीड़ित परिवारले अवश्यै न्याय पाउने दाबी गरेका छन्।

उल्लेखनीय छ, यस वर्षको माध्यमिक परीक्षा उत्तीर्ण छात्राको मृत्युलाई केन्द्र गरी हिजो चोपड़ाको वातारण तनाउपूर्ण बनेको थियो।

शनिबार बेलुकीदेखि बेपत्ता बनेकी छात्राको अपहरणपछि सामुहिक दुष्कर्म गरी हत्या गरिएको पीड़ित परिवार र गाउँलेहरूको आरोप छ। छात्राको शव आइतबार बिहान बरामद भएपछि आक्रोशित बनेका गाउँलेहरूले न्यायको गुहार लगाउँदै सड़कमा ओर्लेर प्रतिवाद जनाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here