गाड़ीको ट्याक्स माफीबारे विनय तामाङसँग हिट्राकोकको भेटवार्ता

0
979

दार्जीलिङ, 21 जुलाईः कोभिड-19-का कारण शुरू भएको लकडाउनअवधिभरिको गाड़ीको ट्याक्स पूर्णरूपले माफ गरिदिनुपर्ने माग लिएर आज हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेशन कमिटी (हिट्राकोक)-ले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङसित भेट गऱ्यो। ताकि उनले सरकारअघि यसबारे ठोस पहल गरिदिने कमिटीको आशा छ।

यति मात्रै होइन, पार्टी अध्यक्ष विनय तामाङले पनि भोलि नै यस विषय लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र पठाउने वचन दिएको कमिटीका अध्यक्ष एस.एन. प्रधानले जनाए।

यस विषय लिएर जीटीए बीओएका अध्यक्ष अनित थापाले पनि गत केही दिनअघि मात्रै राज्य सरकारका सम्बन्धित विभागसमक्ष पत्राचार गरिसकेका छन्।

को-अर्डिनेशन कमिटीका अध्यक्ष प्रधानले अझै अघि भने, “कोरोना सङ्क्रमणका कारण सरकारले नै देशमा लकडाउनको घोषणा गर्न परेको हो। जसको कारण गाड़ी मालिक तथा गाड़ी चालकहरूको आय-आर्जन नराम्रोघतले प्रभावित बनिरहेको छ। यस्तो अवस्थामा धेरै गाड़ीका मालिकहरू आफ्नो गाड़ीको ईएमआई पनि बुझाउन असमर्थ बनिरहेका छन्।’’

त्यसैमाथि गाड़ीको ट्याक्स तिर्नुपर्ने बाध्यता आइपरेका कारण नै हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेशन कमिटीले जीटीए बीओए अध्यक्ष, गोजमुमो दोस्रो खेमाका अध्यक्ष आदिसित भेट गरी गाड़ी मालिकहरूमाथि आइपरेको समस्या समाधान गराउने पहल गरिरहेको प्रधानले बताएका छन्।

उनको दाबीका अनुसार कमिटीले अहिलेघरी मात्रै यस विषयमाथि काम गरेको होइन, लकडाउन शुरू भएदेखि नै लगातार काम गर्दै आइरहेको छ।

यसै विषय लिएर आज कमिटीको 21 सदस्यीय प्रतिनिधि टोलीले पार्टी अध्यक्ष तामाङसित भेट गरेको उनले बताए।

को-अर्डिनेशन कमिटीले राज्यकी मुख्यमन्त्री, ट्रान्सपोर्ट विभाग आदिलाई पत्राचार गर्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here