दार्जीलिङ, 21 जुलाईः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को एक प्रतिनिधि टोलीद्वारा गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।
जानकारीका अनुसार अमित शाहलाई भेट गर्न गएको प्रतिनिधि टोलीमा साङ्गठनिक सचिव निमा तामाङ र केन्द्रिय सदस्य डा. बिनु सुन्दास सामेल थिए।
विमलपन्थी मोर्चा प्रतिनिधि टोलीले गृहमन्त्री अमित शाहसँग भेट गरेको जानकारी भाजपा महासचिव भूपेन्द्र यादवले ट्विटरमार्फत् दिएका छन्।
‘आज गोर्खा जनमुक्ति मोर्चाका साङ्गठनिक सचिव निमा तामाङ र केन्द्रिय सदस्य बिनु सुन्दासले गृहमन्त्री अमित शाहसँग भेट गरे। मोर्चाका सदस्यहरूले आफ्नो प्रतिवेदन गृहमन्त्रीलाई दिएका छन्। तथा गोर्खाहरूसँग सम्बन्धित विषयहरूमाथि चर्चा गरे’, यादवले ट्विट गरेका छन्।
सूत्रका अनुसार प्रतिनिधि टोलीले गृहमन्त्रीसँगको भेटवार्ताअवधि भाजपाले पछिल्लो लोकसभा चुनाउमा सङ्कल्प-पत्रमा समावेश दार्जीलिङ पहाड़, तराई र डुवर्सको स्थायी राजनीतिक समाधान र गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यतालगायत अन्य मुद्दामाथि अवगत गराउँदै यी मुद्दाहरूको शीघ्र समाधानका अनुरोध गऱ्यो।
उल्लेखनीय छ, केही दिनअघि भाजपाका राष्ट्रिय अध्यक्ष जे.पी नड्डा र महासचिव बी.एल. सन्तोषसँग विमलपन्थी मोर्चाको प्रतिनिधि टोलीले भेटवार्ता गरेको थियो।