विनयले पत्याएका छैनन् त्रिपक्षीय वार्ताको कुरा

0
997

दार्जीलिङ, 22 जुलाईः केन्द्र सरकारले त्रिपक्षीय वार्ता डाक्ने कुरालाई गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले पत्याएका छैनन्।

उनका अनुसार पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा पनि तत्कालीन गृहमन्त्री राजनाथ सिंहले 15 दिनभित्र गोर्खाहरूको मुद्दाबारे त्रिपक्षीय वार्ता बोलाउँछु भनेर वचन आश्वासन दिएका थिए।

राजनाथ सिंहको यसै वचनका भरमा विमल गुरुङले 105 दिने बन्द फिर्ता लिएका थिए। तर आजका दिनसम्म पनि केन्द्र सरकारले त्रिपक्षीय वार्ता बोलाएन।

यसैले हिजो विमलपन्थी मोर्चा टोलीलाई 15 दिनभित्र त्रिपक्षीय वार्ता बोलाउँछु भनेर वर्तमान गृहमन्त्री अमित शाहले दिएको भनिएको आश्वासनलाई विनयले चुनावी स्टन्ट मात्र बताएका छन्।

‘मेरो दृष्टिमा यी सबै बङ्गालको आगामी 2021 विधानसभा चुनाउका लागि भाजपासँग मिलेर गरिएको स्टन्ट मात्र हो’, उनले थप भनेका छन्, ‘यस्तो स्टन्ट 2009 –देखि नै प्रत्येक चुनाउमा देख्न पाइरहेका छौं।’

अर्कोतिर विनयले आफूहरूले भारत सरकारको प्रेस इन्फर्मेशन ब्युरोमा भेटघाटको विवरण खोजेको तर कहीं कतै भेटवार्ता उल्लेख नभएको पनि दाबी गरेका छन्।

‘यदि भाजपा गोर्खाहरूप्रति उसले गरेको प्रणप्रति इमानदार छ भने 11 उपजातिलाई जनजाति बनाउने बिल पारित गरेर देखाओस्। यो बिलका लागि पश्चिम बङ्गाल सरकारले दुईपटक सिफारिस गरिसकेको छ’, उनले भनेका छन्, ‘11 उपजातिलाई जनजाति बनाउने बिल पारित गर्न समय खर्च हुने त्रिपक्षीय वार्ता बोलाउने कुनै उपयोगिता नै छैन। कारण यो मुद्दामा सबै राजनैतिक दल र पश्चिम बङ्गाल सरका सहमत भइसकेका छन्।’

यसैगरी मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले गोर्खाका 11 उपजातिलाई जनजातिको दर्जा दिए मात्र त्रिपक्षीय वार्ताको पहललाई विश्वास गर्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here