आइतवार वाममोर्चाले तृणमूल सरकारविरुद्ध सिलगढ़ीमा निकालेको ऱ्याली। |
सिलगढ़ी, 7 अक्टोबर : आइतवार माकपा दार्जीलिङ जिल्ला कमिटीले सिलगढ़ीमा राज्यको शासक दल तृणमूल कङ्ग्रेसविरुद्ध ऱ्याली निकाल्यो। ऱ्यालीमा माकपा नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।
राज्यव्यापी वाममोर्चा नेताहरूलाई झूटो आरोपमा फँसाएको विरोधमा एवं सिलगढ़ी नगर निगम तथा सिलगढ़ी महकुमा परिषद्प्रति राज्य सरकारले सानी आमाको व्यवहार गरिरहेको प्रतिवादमा नै आज दार्जीलिङ जिल्ला वाममोर्चाको तर्फबाट शहरमा ऱ्याली निकालेको हो। यो ऱ्याली बाघाजतिन पार्कबाट शुरु भएको थियो, जुन ऱ्यालीले शहरका विभिन्न मार्गको परिक्रमा गरी एयरभ्यु मोड़मा आएर समापन भएको थियो।
ऱ्यालीलाई सिलगढ़ीका विधायक एवं सिलगढ़ी नगर निगमका मेयर अशोक भट्टाचार्यले गरेको थिए। उनले ऱ्यालीलाई सम्बोधन गर्दै राज्यको शासक दल तृणमूल कङ्ग्रेसले हिंसाको राजनीति गरिरहेको आरोप लगाए। भट्टाचार्यका अनुसार भोलि अर्थात् सोमवार इस्लामपुरमा पनि एक ऱ्याली निकालिनेछ।