–रोशन गिरी
21 जुलाईका दिन गोर्खा जनमुक्ति मोर्चाका दुई सदस्यीय प्रतिनिधि टोलीले भारत सरकारका गृह मन्त्री अमित शाहसँग भेटघाट गरेपछि गोर्खा जनमुक्ति मोर्चालाई गठबन्धनको धर्म पालन नगरेको आक्षेप बारे म के भन्न चाहन्छु भने गोर्खा जनमुक्ति मोर्चाले अहिले पनि गठबन्धनको धर्म पालन गरिरहेको नै छ अनि भविष्यमा पनि पालन गर्ने नै छ।
गृह मन्त्रीले अचानक दिनुभएको भेटघाटको नियुक्तिमा कोभिड-19 महामारीका कारण सबै गठबन्धन दलका नेतृत्वहरूलाई समेट्न सक्षम भएनौं। यसर्थ हामीले यथास्थानमा उपलब्ध सक्षम नेतृत्वहरूलाई नै गृह मन्त्रीसँग भेटघाटका लागि पठाएका हौं। अनि गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले उक्त भेटघाटमा पार्टीभन्दा पनि जातिको मुद्दाहरूलाई नै गृह मन्त्रीसमक्ष पेश गरेको सर्वसाधरणलाई जानकारी गराउन चाहन्छु- सबै गठबन्धन दलहरूलाई यस विषयमा आश्वस्त रहन म नम्र निवेदन गर्दछु।
यससँग-सँगै आज विनयपन्थीका प्रवक्ता केशवराज पोखरेलले मिडियामा दिएको ‘वान् पोइन्ट एजेन्डा’-माथि वार्ता भए उनीहरू पनि वार्तामा जान तयार रहेको हास्यास्पद वक्तव्यको घोर भर्त्सना जनाउँदछु।
2017-को जल्दो बल्दो जनान्दोलनलाई राज्य सरकारको निर्देशमा खत्तम बनाउनेहरूले यस्तो वक्तव्य दिनु एकदमै हास्यास्पद रहेको छ। उनीहरूले हाम्रो जातीय मुद्दामा वक्तव्य दिने नैतिक अधिकार गुमाइसकेका छन्। उनीहरूले 2017 मा राज्य सरकारसँग नमिलेको भए आज विश्वव्यापी रूपमा परिणत भएको जनान्दोलनले केही न केही उपलब्धि हासिल गरिसकेको हुनेथियो। हजारौं युवा घरबारविहीन भएर विस्थापित जीवन जिउन बाध्य हुने थिएन। हाम्रा दाजु-भाइ दिदी-बहिनीहरूलाई झूटो मुद्दा लाग्ने थिएन। कसैको घरबार कुड्की हुने थिएन।
आज केन्द्र सरकारले गोर्खाहरूको दीर्घकालीन मागलाई ‘स्थायी राजनीतिक समाधान’-मार्फत उचित न्याय दिने पहल गर्दा बङ्गालपन्थी भाइहरूले राल नकाड़ेको नै उत्तम हुनेछ। विनयपन्थीहरूले जनतालाई दिग्भ्रमित पार्ने यस्ता वक्तव्यहरू दिन झट्टभन्दा झट्ट बन्द गरून्। चिचीको पनि लोभ पापाको पनि लोभ गर्नु उचित होइन भन्ने म यस विज्ञप्तिमार्फत् सुझाउ दिन चाहन्छु।
(रोशन गिरी विमलपन्थी गोजमुमोका महासचिव हुन्)