गान्तोक, 25 जुलाईः सिक्किमका विभिन्न स्थानमा अविरल वर्षाका कारण पैह्रो गएकाले सड़कहरू अवरूद्ध बनेको छ भने कतिपय गाउँहरू सम्पर्कविहीन बनेका छन्।
लामो समयदेखि उत्तर सिक्किमको अप्पर जङ्गुका दुई गाउँ साक्योङ र पेन्टोक पनि सड़क सम्पर्कविहीन रहेका छन्।
यी दुईवटा गाउँमा आज भारतीय वायु सेनाले हेलिकप्टरबाट राहत सामाग्री पुऱ्याएको छ। वायु सेनाको एमआइ 17 हेलिकप्टरले तीनपल्ट उड़ान भरेर राशन साथै अन्य विभिन्न आवश्यक सामग्री यी दुई गाउँमा पुऱ्याएको छ।
वर्षाका कारण पैह्रो जाँदा साक्योङ र पेन्टोक गाउँ जिल्लाका अन्य भागहरूदेखि सम्पर्कविहीन बनेका थिए भने गाउँलेहरूलाई राशनपानी र अन्य सामाग्रीको समस्या भइरहेको थियो।
आज भारतीय वायु सेनाले 100 बोरा चामल, 550 लिटर खाने तेल, 100 प्याकेट मैनबत्ती र माचिस, औषधि आदि पुऱ्याएको छ।
यी सामग्रीहरू साक्योङ स्कूल मैदानमा हेलीकप्टरद्वारा पुऱ्याइएको थियो। भारतीय सेनाको यस पहलप्रति जङ्गुवासी कृतज्ञ बनेका छन्।