तीनधारे 17 माइलमा पैह्रो जाँदा दुईजना घाइते, घर क्षतिग्रस्त

0
1060

तीनधारे, 28 जुलाईः हिजो (सोमबार) रातिदेखि अविरल परेको वर्षाका कारण तीनधारे 17 माइलमा गएकोले पैह्रोको चपेटमा परी दुईजना घाइते भएका छन्।

घाइते हुनेहरूमा 70 वर्षीय नरमाया गजमेर र 32 वर्षीय  विनीता गजमेर रहेका छन्। उनीहरू दुवैलाई तीनधारे रेलवे अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिलगढ़ी रेफर गरिएको बताइएको छ।

पैह्रो पीड़ित परिवारले बताएअनुसार राति करिब 11.50 बजी पैह्रो गएको हो। घर माथिबाट सोहोरिएर आएको पैह्रोले राजु गमजेरको घरको एउटा कोठालाई पूर्ण रूपमा क्षति पुऱ्याएको छ।

यसै कोठामा दुई आमा-छोरी सुतेकी थिइन्। पैह्रोले उनीहरूलाई सोहोरेर घर तल्तिर राष्ट्रिय राजमार्ग 55-मा पुऱ्याएको कारण उनीहरूको ज्यान बाँच्न सकेको स्थानीय मानिसहरूले बताएका छन्।

अर्कोतिर, अर्को कोठामा सुतेका छोरा राजु गजमेरलाई भाग्यवश कुनै चोटपटक लागेको छैन। पैह्रोले छोरा राजु गजमेर सुतेको कोठालाई भने आंशिक क्षति पुऱ्याएको छ।

यसैबीच, पैह्रो पीड़ितहरूलाई भेट्न तथा क्षयक्षतिबारे जानकारी लिनका लागि विनयपन्थी गोजमुमोका क्षेत्रीय नेतृत्वहरू आज बिहानै 17 माइल पुगेका थिए।

अर्कोतिर, तीनधारे चियाकमाननिवासी सकुन बराइलीको घरलाई पनि पैह्रोले आंशिक क्षति पुऱ्याएको छ।

त्यसैगरी तीनधारे चियाकमाननिवासी सुदर्शन तामाङको घरछेउ गएको पैह्रोले प्रधानमन्त्री ग्राम सड़क परियोजनामार्फत् तीनधारेदेखि सिबिटारसम्म निर्माण गरिएको सड़कलाई क्षति पुऱ्याएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here