दार्जीलिङ, 30 जुलाईः गोरामुमो अध्यक्ष मन घिसिङ 14 दिनको होम क्वारेन्टाइनबाट बाहिर निस्किएपछि पार्टीको केन्द्रिय समितिको बैठक गरी पार्टीको भावी रणनीतिबारे छलफल गर्ने भएका छन्।
आज पार्टीका एक शीर्ष नेता अजय एड्वर्डले यस्तो जानकारी गराउँदै 14 दिनको होम क्वारेन्टाइनको मियाद समाप्त भएपछि मात्रै पार्टी अध्यक्ष घिसिङले पार्टी कार्यकर्ताहरूसित भेट गर्ने निर्णय लिएको पनि बताए।
गोरामुमो अध्यक्ष मन घिसिङ र पार्टी नेता महेन्द्र छेत्री आज दिल्लीबाट सिलगढ़ी आइपुगेका छन् र उनीहरू दुवै सिलगढ़ीमा नै 14 दिन होम क्वारेन्टाइनमा बस्ने भएका छन्।
यसबारे एडवर्डले भने, “सरकारको नियमलाई पार्टी अध्यक्ष मन घिसिङ र महेन्द्र छेत्रीले पूर्णरूपले पालन गरेका छन्। किनभने, उनीहरू दिल्लीबाट आएका हुन् र हवाई जवाजमा यात्रा गरेपछि कोही पनि 7 दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ। यसैले पार्टी अध्यक्ष घिसिङ र महेन्द्र छेत्री 14 दिन क्वारेन्टाइनमा बस्नेछन्।’’
यसपछि मात्रै उनीहरू दार्जीलिङ आएर पार्टी कार्यकर्ताहरूसित भेट गर्नेछन् अनि केन्द्रिय समितिको बैठक गरी पार्टीको भावी रणनीतिबारे छलफल गर्ने एड्वर्डले जानकारी गराएका छन्।