दार्जीलिङ, 1 अगस्त: केन्द्र सरकारले इच्छाशक्ति नदेखाएकै कारण आजसम्म छुट्टै राज्य गोर्खाल्याण्डको गठन नभएको भारतीय गोर्खा परिसङ्घको ठहर छ।
यदि केन्द्र सरकारले इच्छाशक्ति देखाएको भए अहिलेसम्म छुट्टै राज्य गोर्खाल्याण्डको गठन भइसक्ने परिसङ्घका कार्यकारी अध्यक्ष डा. मुनिष तामाङले बताएका छन्।
विशेष केन्द्र सरकारले गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को विषयमाथि समीक्षा सभा गर्ने भनेर एक पत्र पठाएपछि मच्चिएको उथुल-पुथुलबीचै यसमाथि परिसङ्घको सोच अनि उद्देश्य के छ भन्ने विषय लिएर डा. तामाङले एक भर्चुअल पत्रकार सम्मेलनको आयोजन गरेका थिए।
यसै भर्चुअल पत्रकार सम्मेलनमा राखिएका प्रश्नहरूको उत्तरमा तामाङले भने-, “भागोपले पहिलादेखि नै जीटीएलाई छुट्टै राज्य गोर्खाल्याण्डको मार्गमा बाधा मान्दै आइरहेको छ। यसैले यस विषय लिएर सभा डाक्नु रूटिन कार्य हुनसक्छ। तर, यसमाथि भागोपको कुनै लिनुदिनु छैन। किनभने, भागोपको एउटै लक्ष्य अनि उद्देश्य छुट्टै राज्य गोर्खाल्याण्ड हो अनि स्थायी राजनीतिक समाधान पनि केवल गोर्खाल्याण्ड हो।’’
यसैले यसको लागि अब दार्जीलिङका सांसद राजु बिष्टले पनि केन्द्र सरकारलाई वार्ता शुरू गराउन चाप दिने कार्य गर्नुपर्ने उनले बताएका छन्। साथै गोर्खाल्याण्डप्रेमी सम्पूर्ण स्टेक होल्डरहरूलाई एकताको सूत्रमा बाँध्न भागोपले पनि ठोस पहल गर्नेछ।
भाजपाले वर्ष 2019-को लोकसभा चुनाउमा जारी गरेको आफ्नो सङ्कल्प-पत्रमा उल्लेख गरेको स्थायी राजनैतिक समाधान के हो भनेर अझैसम्म स्पष्ट पारेको छैन’’, उनले थपे, “तरै पनि भागोपले स्थायी राजनीतिक समाधान गोर्खाल्याण्डबाहेक अन्य केही हुन नसक्ने सोच राखेको छ।’’
यसैकारण केन्द्रले दार्जीलिङ वा गोर्खा समुदायका लागि युनियन टेरिटोरीका लागि वार्ता गरे, त्यस वार्तामा भागोपले भाग नलिने वा यसमाथि चर्चा नै नगर्ने पनि तय गरेको तामाङले बताए।