हाम्रो टिम वर्क ठीक भए अवश्यै हामी कोरोनालाई जित्नेछौं : अनित थापा

0
1274

खरसाङ, 4 अगस्तः पहाड़मा बढ़्दो कोरोना भाइरसको मामिलाका कारण चिन्तित देखिएका जीटीए बीओए अध्यक्ष अनित थापाले कोरोनाविरुद्धको लड़ाइँमा सबैले आ-आफ्नो पक्षबाट दायित्व निर्वाह गर्नुपर्ने अपील गरेका छन्।

उनका अनुसार अहिलेघरी पहाड़मा कोरोना भाइरसका मामिला दिन  प्रतिदिन बढ़िरहेको छ। विशेषगरी खरसाङमा अझ धेर कोरोना भाइरसका मामिला पाइनु चिन्ताको विषय हो। तर यसबाट आतिनुको सट्टा सतर्क हुनुपर्ने आवश्यकता रहेका थापाको भनाइ छ।

‘हामीमा यतिबेला हाम्रो आत्मबल दह्रो हुनुपर्छ। अनि हाम्रो टिम वर्क ठीक हुनुपर्छ। यदि हाम्रो टिम वर्क ठीक भएमा अवश्यै हामी कोरोनालाई जित्न सक्छौं।’

उनले थप भनेका छन्, ‘काम गर्ने हाम्रो टीम सक्रिय हुनुपर्छ। नगरपालिका तथा ग्राम पञ्चायत क्षेत्रहरूमा हाम्रो सर्भिलेन्स टीमका सदस्यहरूलगायत नगरपालिकाका पार्षद्हरू अनि हाम्रा स्वयंसेवकहरूले हिजोका दिनमा काम गरे, अब आउँदा दिनहरूमा अझ त्योभन्दा धेर काम गर्नुपर्ने देखिएको छ। उनीहरूसँग अब म स्वयं पनि मैदानमा निस्किएर काम गर्न तयार छु। अनि गर्नेछु।‘

अर्कोतिर, जीटीए बीओएका अध्यक्षले प्रत्येक गाउँ-समाजका प्रतिनिधि, गैरसरकारी संस्थाका सदस्यहरू, समाजसेवीहरूलाई लिएर एउटा राम्रो टिम बनाउनुपर्ने कुरामा जोड़ दिएका थिए। साथै यो टिम पूर्ण रूपले सेवाको भावनाले काम गर्ने हुनुपर्ने उनले बताएका छन्।

यसैगरी यो टिमले साधारण मानिसहरूलाई जागरूक बनाउने तथा जनचेतना फैलाउने कार्य गर्नुपर्ने, प्रत्येक शहर र गाउँलाई सेनिटाइज गरिनुपर्ने थापाले बताएका छन्। यसका लागि  चाहिने सबै सामग्री जीटीएद्वारा उपलब्ध गराउने उनको भनाइ छ।

अर्कोतिर अनित थापाले कोरोना भाइरसलाई लिएर कसैले पनि कुनै प्रकारको राजनीति गर्नु उचित नरहेको दोहोऱ्याएका छन्।   

‘कोरोनालाई लिएर हामीले कुनै राजनीति गर्नुहुँदैन। व्यक्तिगत र राजनीतिक फाइदाका लागि काम गर्ने समय यो पट्क्कै होइन। यतिबेला हामीले कसरी हाम्रो पहाड़लाई कोरोनाबाट बचाउने, यही विषयमा सबैले सोचेर काम गर्‍यौँ भने अवश्यै हामी यस दिशामा सफल हुनेछौं’, उनले थप भनेका छन्, ‘आजसम्म जसरी हाम्रा पुलिस प्रशासन, स्वास्थकर्मी, स्वयंसेवक, चालक, मिडियाकर्मी, जीटीए प्रशासनका अधिकारीहरूलगायत हाम्रा अघिल्ला पङ्क्तिका कार्यकर्ताहरूले आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर रूपमा काम गरिरहेका छन्। यो अत्यन्तै सराहनीय स्वागतयोग्य छ। तर, अब अझ हाम्रो अघि अझ ठूल्ठूला चुनौतीहरू आइरहेका छन्। जुन चुनौतीलाई पनि हामीले हिजोजस्तै टिम वर्कद्वारा मिलेर जित्नेछौं, यसमा कुनै शङ्का छैन्। तर म सबैलाई आग्रह गर्छु, यो कोरोनाविरुद्ध युद्धमा एकसाथ मिलेर लड़ौं।

अहिले जीटीए क्षेत्रमा कोरोना भाइरसका मामिला बढ़िरहेकाले जीटीएका सबै कार्यकर्ता चिन्तित रहेको तथा कोरोना भाइरसबाट मानिसहरूलाई बचाउनका लागि सबैपक्षबाट सल्लाह, सुझाउ र परामर्श लिने कार्य गरिरहेको पनि थापाले बताएका छन्।

यसैगरी उनले उनले मानिसहरूलाई अत्यावश्यक काम भए मात्र घरबाहिर निस्किने नभए घरमै बसिदिने अपील गरेका छन्।

यसैबीच, आज पहाड़मा बढ़्दो कोरोना सङ्क्रमणको रोकथाम र मानिसहरूलाई यसबाट बचाउने उपायबारे जीटीएले खरसाङमा उच्चस्तरीय समीक्षा सभा आयोजन गरेको थियो। सभामा जीटीए बीओएका अध्यक्ष अनित थापालगायत जीटीएका प्रमुख सचिव, दार्जीलिङका जिल्लापाल, दार्जीलिङका पुलिस अधीक्षक, सीएमओएच, एसडीएमओ खरसाङ, खरसाङका महकुमा अधिकारीलगायत नगरपालिकाका प्रतिनिधिगण तथा अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here