अहमदाबाद, 6 अगस्तः गुजरातको अहमदाबादस्थित नवरङ्गपुराको स्पेशल कोभिड अस्पताल श्रेय अस्पतालमा आगलागी हुँदा जलेर 8 जना बिरामीको मृत्यु भएको छ।
यो बीभत्स घटना बिहीबार बिहान 3 बजी भएको बताइएको छ। गुजरातका मुख्यमन्त्री विजय रुपाणीले तत्कालै घटनाको उच्चस्तरीय जाँचको आदेश दिएका छन्।
मर्नेहरूमा 5 पुरुष र 3 महिला रहेको बताइएको छ। जानकारीका अनुसार आज बिहान 3 बजी अस्पतालको आईसीयू वार्डमा अचानक आगो लाग्दा यो बीभत्स घटना घटेको हो।
श्रेय अस्पताल 50 बेडको कोविड-19 अस्पताल हो। यस अस्पतालमा घटनाको समय 40 देखि 45 बिरामी उपचाराधीन थिए। घटनापछि अन्य बिरामीलाई सरदार वल्लभभाई पटेल अस्पतालमा सारिएको छ।
सरकारले घटनाको जाँचका लागि 3 दिनको समय दिएको छ।
यसैबीच यस घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ)-को तर्फबाट 2 लाख तथा घाइते प्रत्येकलाई 50 हजार दिइने घोषणा गरिएको छ।
अर्कोतिर यस घटनाबारे गृह मन्त्री अमित शाहले पनि ट्वीट गरी दुःख व्यक्त गरेका छन्।