रुदेन लेप्चाको बयानले शान्ति शृङ्खलामा आँच आएको छः अनिल लोप्चन

0
1034

कालेबुङ, 7 अगस्तः  राम मन्दिरको भूमिपूजन कार्यक्रमलाई केन्द्र गरी कालेबुङको मेन रोडमा ऱ्याली निकाल्ने आनन्द गर्ग (पप्पु) -हरूलाई तारो बनाउँदै मारवाड़ी समुदायमाथि विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) नेता रूदेन लेप्चाले दिएको बयानलाई विमलपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाले तीखो शब्दमा भर्त्सना जनाएको छ।

साथै यतिका दिनसम्म पहाड़मा सबै शान्ति शृङ्खला, साम्प्रदायिक सद्भावनालाई बचाएर मैत्री-प्रेमभावले बसिरहेको तर रूदेन लेप्चाको बयानले पहाड़को शान्ति शृङ्खलामाथि आँच आएको बताउँदै आउँदा दिनहरूमा केही भइहाले त्यसका लागि उनीलगायत उनको पार्टी र प्रशासन दायी हुने पनि विमलपन्थी गोजयुमोले बताएको छ।

‘6 अगस्तका दिन विनयपन्थी नेता रूदेन लेप्चाले आनन्द गर्ग (पप्पु) र समीर घोषहरूलाई लिएर जुन बयान दिए, त्यस निन्दनीय र निम्नस्तरको सोचको विमलपन्थी युवा मोर्चा घोर भर्त्सना जनाउँदछ’, विमलपन्थी युमो केन्द्रीय समिति उपाध्यक्ष अनिल लोप्चनले थप भनेका छन्, ‘दशकौंदेखि नङ र मासुजस्तो सम्बन्ध रहेका बहुसङ्ख्यक र अल्पसङ्ख्यक पहाड़वासीको न्यानो सम्बन्धमा विष घोलेर आफ्नो राजनीतिक रोटी सेक्ने यस प्रकारका स्वार्थी तत्त्वहरूसित सधैँ पहाड़ चनाखो बस्नपर्ने समय रहेको छ।’

लोप्चनका अनुसार रूदेन लेप्चाले गर्ग र घोषको नाममा तमाम अल्पसङ्ख्यक सुमदायलाई प्रत्यक्ष वा परोक्ष रूपमा चेताउनी दिएर मानसिक यातना दिएको छ। साथै उनले विमलपन्थी युमो विज्ञप्तिमार्फतै रूदेन लेप्चा र उनको पार्टीविरुद्ध प्राथमिकी दर्ता गर्नचाहेको कुरा पुलिस प्रशासनलाई अवगत गराए।

उनले बताएअनुसार कुनै पनि सत्तामा कुनै पनि पार्टी स्थायी हुँदैन।

‘दिदीलाई खुशी पार्न भाइहरूले सबै हद पार गरिरहेको जनमानसले देखिरहेको, भोगिरहेको ज्वलन्त विषय हो’, उनले थप भनेका छन्, ‘दिदीलाई रिझाउन भाइहरूले आफ्नो आमाको छाती टेकेर बङ्गालको दासत्व स्वीकारेर आफ्नो लाशको आफै मलामी हुने तर्खर गरिरहेका छन्।’

यसै गरी उनले रूदेन लेप्चाको बयानले अन्य ठाउँहरूमा अल्पसङ्ख्यकको रूपमा रहेका गोर्खाहरू असुरक्षित बनेको तथा स्वतन्त्रयापूर्वदेखि पहाड़को विकासमा मारवाड़ी समुदायले दिएको योगदानको उपहास भएको पनि बताएका छन्। अर्कोतिर, अनिल लोप्चनले विमल गुरूङ नेतृत्वाधीन गोजमुमोले आफ्नो दलको स्थापनाकालदेखि अल्पसङ्ख्यक समुदायका सुरक्षा र हितका लागि कार्य गरिरहेको र भविष्यमा पनि हाम्रो नीतिमा कुनै परिवर्तन नहुने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here