नाम्ची, 25 जनवरी : शुक्रबार नाम्चीमा वीभत्स सड़क दुर्घटना भएको छ। अपरान्ह 1 बजे भएको यो सड़क दुर्घटनामा परी 28 वर्षीय सागर थापाको घटनास्थलमा नै मृत्यु भएको छ, जबकि अन्य एक युवक कर्मा भोटिया गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते भएका युवक भोटियालाई नाम्ची अस्पतालमा प्राथमिक उपचारपछि सिलगढ़ी रेफर गरिएको बताइएको छ।
मृतक युवक नाम्ची आसाङ्थाङ निवासी रहेको बताइएको छ। उनी राभाङ्लास्थित भीसीजीएल उच्चतर माध्यमिक विद्यालयका शिक्षक रहेको जानकारी प्राप्त भएको छ।
नाम्ची पुलिसका अनुसार यो दुर्घटना नाम्ची बजारस्थित एसडीएफ पार्टी कार्यालयअघि गान्तोक रोडमा भएको हो।
समान पूर्ण लादिएको 04 डी 0631 नम्बर रहेको नियन्त्रित ट्रकले बाइकलाई जोड़ले हिर्काउँदा उक्त बाइकमा सवार सागर थापाको घटनास्थलमा नै मृत्यु भएको हो। ट्रकको ठक्करले उछिटिएका बाइक सवार थापा ट्रककै चक्कामुनि परेका थिए भने ट्रकले केही परसम्म पेलेर लगेको थियो।
ट्रकले टाउको र केही परसम्म पेलेर लगेकोले थापाको वीभत्स मृत्यु भएको हो।
पुलिसले घटनाबारे जानकारी गराएअनुसार सामानले लादिएको ट्रक अनियन्त्रित भएर बाइकलाई हिर्कायो। यो घटनामा ट्रकले सागर थापालाई बाइकसँगै पेलेर लग्दा उनको घटनास्थलमै मृत्यु भयो। यो घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।
यो अनियन्त्रित ट्रकको चपेटमा परी सड़क छेउ पार्किङ गरेर राखिएका एसके04/जी/0033 महेन्द्र स्कर्पियो, एसके 05/पी/0542 महेन्द्र स्कर्पियो, एसके 04/जे/0517 महेन्द्र सवारी, एसके01/पी/2031 हुण्डई आई10, एसके/04/पी/1182 अल्टो, एसके04/पी/3768 वाहनहरू पनि क्षतिग्रस्त बनेका छन्।
घटनाबारे थाहा पाउनासाथ नाम्ची पुलिस थानाका पुलिसकर्मीहरूले घटनास्थलमा पुगेर घाइते कर्मा भोटियालाई तत्कालै नाम्ची जिल्ला अस्पतालमा पुऱ्याएका थिए, जहाँ प्राथमिक चिकित्सापछि उनलाई सिलगढ़ी रेफर गरियो।
घटनापछि पुलिसले ट्रकका चालक कृष्ण प्रधान (38) -लाई पक्राउ गरेको छ। आरोपी ट्रक नाम्ची निवासी दिलिल भाइजीको रहेको थाहा लागेको छ। आरोपी चालकविरुद्ध भारतीय दण्ड संहिताका धारा 279/336/337/388/304 (ए) तथा मोटर भिकल एक्ट 1984 को धारा 184 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
ट्रक अनियन्त्रित बनेको कारण नै अघिल्तिर रहेको बाइकलाई सोझै ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।