गान्तोक, 7 अगस्तः आज (शुक्रबार) सिक्किममा कोरोना भाइरसका थप 25 नयाँ मामिला थपिएको छ।
राज्यका स्वास्थ्य विभागका महानिर्देश एवं सचिव पेम्पा छिरिङ भोटियाले बताएअनुसार आज सङ्क्रमित पाइएका यी 25 जना सङ्क्रमितमध्ये 19 जना दक्षिण सिक्किम र 6 जना पूर्व सिक्किमबाट रहेका छन्।
यससँगै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 854 पुगेको छ, जसमध्ये 406 जना स्वस्थ भएर घर फर्किसकेका छन्। अहिले राज्यमा एक्टिभ केस 447 रहेको छ।
अर्कोतिर, दोहोरो जाँच गर्दा पनि नेगिटिभ रिपोर्ट आएपछि आज एकैदिन 46 जना स्वस्थ भएर घर फर्केका छन्।
उल्लेखनीय छ, राज्यमा पछिल्ला केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ़्दै गए तापनि स्वस्थ भएर घर फर्किनेहरूका सङ्ख्या उत्तिकै धेरै रहेको छ।
यसैबीच सर्वसाधारणले ट्याक्सीमा चढ्दा त्यसको नम्बर टिपेर राख्न स्वास्थ्य विभागका सचिव डा. पेम्पा छिरिङ भोटियाले आग्रह गरेका छन्।
यसरी नम्बर टिपेको खण्डमा कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसहरूको खोजी गर्न सजिलो हुने बताएका छन्।
उनले कोरोनाको जाँच गर्ने व्यक्तिहरूलाई पनि आफ्नो सम्पर्क नम्बर र ठेगाना उपलब्ध गराउन आग्रह गरेका छन्।