#ही टु

1
1820

कोमल केरुङ सुब्बा

‘#मी टु मुभमेन्ट सोशल साइटहरूमा भाइरल बनेको छ। बलिवुड एक्टर नाना पाटेकरद्वारा नायिका तनुश्री दत्तामाथि यौन दुर्व्यवहार गरिएको तथाकथित घटनालाई लिएर शुरू गरिएको उक्त अभियानले म पनि निक्कै प्रभावित बनेको छु। नानीहरूलाई खेलौना सम्झिने सभ्य समाजलाई यसरी नै नाङ्गोझार पार्नुपर्छ। सभ्य अनुहारको मुखौटा ओड़ेका ब्याँसोहरूको मुखौटा यसरी नै खोलिनुपर्छ। मभित्रको नारी हृदयले यसरी #मी टु मुभमेन्टको समर्थन गर्न लागिसकेको छ। ‘

‘नारीले आफूसँग भएको अन्याय-अत्याचार सहनु हुँदैन। प्रतिकार गर्न सक्नुपर्छ। पुरुषप्रधान समाजसित जुझ्न अब नारीहरू पनि साहसी हुनैपर्छ। अब यस विषयमा एउटा कथा नै लेख्छु।’ #मी टु मुभमेन्टको प्रभावले यस्तो धारणा बनाएको छु। तर कथा लेख्न नसकेको भने धेरै भइसकेको छ। धेरै दिनदेखि कथा लेख्ने हुट्हुटी भएर पनि लेख्नै सकिरहेको छुइनँ। घरको काम, साथीहरूसित भेटघाट र मोबाइलले मलाई कथा लेखनदेखि धेरै टाढ़ा पुऱ्याइसकेको छ। तीन महिना नाघिसक्यो मैले कथाको नाममा एक अक्षर पनि लेख्न सकिरहेकी छैन।

‘यसपल्ट यस विषयमा भने अवश्यै लेख्नेछु’ मैले सङ्कल्प नै गरेकी छु।

……………….

आज शनिबारको दिन।

फुर्सद निकालेर मोबाइलमा फेसबुक कोट्याइरहेकी छु। समय पाउनेसाथ फेसबुकमा न्यूज फिड स्क्रोल गर्ने मेरो आदत नै छ। च्याटिङ गर्नुभन्दा धेर फेसबुकको न्युज फिड हेर्नु लाभदायक पनि लाग्छ। च्याटिङमा त्यति चाँसो लाग्दैन। चिनेका-नचिनेका भुर्राभुर्रीदेखि लिएर वयस्कहरूसम्म च्याटिङमा इत्रिने गर्छन्। एउटा टेक्स्टको जवाब नदिई दर्जनौं कुरा बढ़ाउँछन्। ताक परे छिल्लिनु पनि पछि पर्दैनन्। फोन नम्बर माग्ने, भिडियो च्याटिङ के-के।  

यस्तै न्युज फिड स्क्रोल गर्ने क्रममा मेरो एउटा घटनामाथि आँखा पुग्छ। एउटा युवकले -‘म अब सहन सक्दिनँ’ भनेर सुसाइट नोट छोड़ेर आत्महत्या गरेको रहेछ। म उत्सुक भएर उक्त पोस्टबारे थप जानकारी लिन सी मोर-अप्सनमा क्लिक गरेँ। त्यो युवक विवाहित मात्र नभएर एक छोरोको बाबु पनि रहेछ। एक-दुई दिनअघि मात्र उसकी श्रीमती छोरासितै माइत गएकी रहिछ। त्यही मर्का सहन नसकेर त्यो युवकले आत्महत्या गरेको रहेछ। कुनै ब्याङ्कमा काम गर्ने त्यो युवकको उमेर लगभग 30 वर्ष हुनसक्छ। फोटो हेरेपछि त्यही अड़कल गरेँ।

यति राम्रो नोकरी, परिवार भएको मान्छेले किन आत्महत्या गरे होलान्? यति सानो कुरामा पनि आत्महत्या गर्नैपर्ने? के पुरिषहरू पनि यति साह्रो कायर हुनसक्छन्? यसरी मनमा कुराहरू खेल्न थालेँ।

त्यस युवकले रक्सी पिएर आएर श्रीमतीलाई अत्याचार गर्ने गरेको हुनुपर्छ या त पराई स्त्रीसित सम्बन्ध राखेको थाह पाएर नै श्रीमती माइत हिँड़ेको हुनुपर्छ। न त आफ्ना घर-परिवार छोड़ेर छोरी मान्छे किन माइत जाने सोच्छिन्! यति अड़कल काटेपछि मलाई त्यो युवकप्रति सहानुभूतिको सट्टा झनै रिस उठेर आयो।

……………………….

‘#मी टु मुभमेन्ट’-को लहरले बलिवुडका आधा-उधी हस्तीहरूलाई छोइसकेको छ। एक जमात छ, जसले तनुश्री दत्तालाई सहानुभूति दिँदै उनको समर्थनमा ओर्लिरहेको छ। एक जमात छ, जो तनुश्रीलाई झैं आफूमाथि पनि यौन दुर्व्यवहार गरिएका घटनाहरू ओकलिरहेका छन्। अर्को जमात पनि छ, जसले नाना पाटेकरको बचाउ गरिरहेको छ।

म दिनहुँ सोशल साइटहरूमा यस मुभमेन्टबारे चाँसो लिइरहेको छु। जति जति यस मुभमेन्टबारे जानकारी लिइरहेको छु त्यति-त्यति नै नारी सशक्तिकरणमाथि कथा लेख्ने सोचले बलियो जरा हान्दै गइरहेको छ।

…………………

आठौं रङ्गको लाछा कथा छापिएदेखि यता लगभग दर्जनजति कथाहरू लेखिसकिएछ।  आज डायरी पल्टाउँदा थाह लाग्यो। कसरी लेख्न सके होला मैले यी कथाहरू। कुन मुडमा लेखे हुँला। कथा लेख्न बसेको तर लेख्नै नसकेपछि आजको दिन पनि यसरी सोचेर नै बित्यो। कथा अघि बढ़्नै सकेन।

‘आज त केही लेख्नैपर्छ’ मनमा यही हुट्हुटी छ।  हुट्हुटीलाई कथामा परिणत गर्न म कोठाभित्र कथाको प्लट खोजिरहेको छु। शोषित, पीड़ित र समस्याग्रस्त नारीहरूका नियास्रो अनुहार सम्झिरहेको छु। हरेक रात पियक्कड़ बूढ़ाको लात्ती घुस्सी सहेर पनि घर धानिरहेकी मनमाया भाउजु, बाँझो कोखको दोषमा ससुरालीबाट लखेटिएकी प्रभा दिदी, सानाबाको कुनजरबाट बच्न घर छोड़ेका राधा बैनीहरूको अनुहार सम्झिरहेकी छु। प्रतिकार गर्न नसकेर अवहेलित बाँचिरहेकी यिनीहरूमध्ये कुनै एक मेरो कथाको पात्र हुनुपर्छ। मेरो कथाले यिनीहरूकै व्यथा बोलिदिनुपर्छ। यिनीहरूको आवाज बनिदिनुपर्छ, मेरो कथा। यस्तै सोचिरहेछु।

 ‘ओई रमेश काकालाई च्या बनाइ दे त’- यत्तिकैमा बाहिरबाट आमा कराउँछिन्।

‘ए… आमा चै एउटा कथा लेखुम् भनेको’ – रिससरि फत्फतिँदै म कोठा बाहिर निस्किन्छु।

चिया बनाएर काकालाई दिन म भान्साकोठाबाट बाहिर निस्किन्छु। खिप्रिक्कै परेको रमेश काकालाई देखेर छक्क पर्दै सोध्छु- ‘आम्बो काका त कस्तो खाप्राक-खुप्रुक, हुनुभएछ के भयो?’

काका ङिच्च दाँतमात्र देखाएर चिया थाप्छन्।

तीन महिनाअघि मात्र त हो रमेश काका हाम्रो घरमा बाबासँग पैसा सापट माग्नु आएको ।

‘दाजु यो कमानको कामले त केही होला जस्तो छैन। छोरालाई अलिक राम्रो स्कूल हाल्छु, बरू बाइर जान्छु काम गर्नु!’ यसरी नै दुखेसो पोखेका थिए रमेश काकाले बाबासित।

उमेरले लगभग 35 पुगेको रमेश काका साह्रै सोझा। कसैको कुरा नकाट्ने। कसैलाई नबिझाउने। यसैले सबैका आँखाको तारा। हाम्रो घरका सानो-सानो काम पनि केही नसोधी खुरुक्क गरिदिने। सानो-सानो कुरा पनि बाबासित सल्लाह लिने। बाबाले हकार्दा लुप्रुक्क हुने। रिसाउनुको सट्टा ङिच्च दाँत देखाएर हाँस्ने।

सबै चियाकमानेको जस्तै भुक्तभोगी काका पनि। कमानमा 8 घण्टा काम गरेको खर्चले दिनको तीन टाइम खाना जुराउन पनि धौ-धौ। भुकुल्ले छोरा स्कूल जान थालेको छ, छोरी आमाको काखमै छिन्। एक ज्यानले कमानमा खटेको पैसाले धौ-धौ पर्दा काकी उल्टै काकामाथि खनिन्छे। काकीलाई छोरा प्राइमेरी स्कूल पढ़ेकोमा आपत्ति छ, छोरीले राम्रो खान नपाएकोमा आपत्ति छ। सबैभन्दा धेर आफूले भनेजस्तो लाउनु-खानु अनि साथीहरूसित घुम्नु नपाएकोमा उसलाई आपत्ति छ। त्यही आपत्तिहरू मनदुःखमा परिणत भएपछि उसले काकासित रिस गर्छ। कचकच र गनगनबिना खाना खाएको कुनै दिन छैन काकाले। तर हरेक समस्या, हरेक दुःखको बेला पनि चुपचाप ङिच्च हाँसिदिने काकाको स्वभाव छ। त्यहा हाँसोले काकाका पीर-मर्काहरूलाई छोपेर राखेको छ।

‘ठीकै हो काइँला आफूले त राम्रो पढ़्नु पाइनस् छोरालाई राम्रो पढ़ा। मरदहरूलाई कमानको काममा पाखुरी खर्चेर या फाइदा पनि केइ छैन। एकपल्ट बाइर गएर पनि हेर्। तर अलिक होस् गर्नु त साह्रै लाटा छस्!’ त्यतिखेर बाबाले पनि काकाको कुरामाथि सही थप्दै भनेका थिए। बाबाले पनि काकाको मर्का बुझेरै यसो भनेको हुनसक्छ, सायद।

काकाले त्यसरी नै ङिच्च दाँतमात्र देखाएर हाँसेका थिए त्यतिबेला पनि।

…………………………….

‘आमा रमेश काका त कस्तो घटेछ है?’- बेलुकी खाना खाँदै गर्दा म आमालाई सोध्छु।

‘परदेश फापेन रैछ बिचारालाई, डेङ्गुले भेटेर झण्डै मरेको हरे। धन्न बाँचेर आएछ पो!’ आमाले भनी।

बेलुकीको खाना खाइसकेर फेरि कोठाभित्र पसिसकेको छु। कथा लेख्छु भनेरै दिन गालेको आज लगभग महिना दिन पुगिसकेको छ। आज त जसरी भए पनि लेख्नै छ मलाई। तर, अचम्भ एक हरफ पनि लेख्न सकिरहेको छुइनँ। केही लेख्न नसकेको हुट्हुटीले पिरोलिरहेको छ। छट्पटिरहेको छु म कथा जन्माउनलाई।

‘तातो चिया पिउँदा कथा फुर्छ कि!’  केही उपाय नचलेपछि यति सोचेर चिया बनाउन म भान्साकोठातिर लम्किन्छु।

‘थेत् काँ डेङ्गु लागेको रैछ त काइँलालाई!’- चिया बनाउँदै गर्दा बाबा-आमाको कोठाबाट आएको यो आवाजले म केही चङ्खो भएर कान थाप्छु।

‘अन्त के भाको रैछ त’- आमाको आवाज।

‘तेसले काम गर्ने घरको मालिक प्रायः घरदेखि बाइर हुन्थ्यो हरे। मेमसाहेब तरुणी नै थिएछ, अलिक छाड़ी स्वभावको ……’

‘अन्त के भएछ !’- आमाको जिज्ञासु आवाज।

‘आबो के भन्नु आफै बुझ्न…’ बाबाले यति भनिसकेपछि एकछिन सुनसान हुन्छ। म झनै कान चनाखो गर्छु।

‘मेमसाहेबले कत्ति कर गर्दा पनि त्यो मानेन रैछ। मानिनस् भने तलाई चोरीको केशमा जेल हालिदिन्छु भनेर मेमसाहेबले धम्की दिएछ। तेसको भोट कार्ड र अरू के के समानहरू पनि सप्पै खोसेर एक हप्तासम्म खाना पनि नदिई भोकै राखेछ। कसो-कसो मेमसाहेब बजार गएको मौका छोपेर घरको लुगा र चप्पलमै भागेर आको रैछ बिचारा!’– बाबाले सबै रहस्य खोल्छ।

‘खै जमाना पनि कस्तो आयो हौं हन…- आमा अचम्म मानेर यसो भन्दै गरेको बेला म चिया बोकेर आफ्नो कोठामा पस्छु।

……………………

रातिको 11 बजिसकेको छ। निद्रा छैन आँखामा।अहिलेघरी एउटा कथासितै रमेश काकाको ङिच्च दाँत देखाउने हाँसोभित्रको अव्यक्त कथा मेरो मन-मस्तिष्कमा घुमिरहेको छ। बलात्कृत हुनदेखि सुटुक्क बाँचेर आएका रमेश काकाको ङिच्च हाँसो मेरो आँखाअघि नाचिरहेछ। भास्सिएको आँखा, चाउरिएको अनुहार अनि सुकेको गालाभित्र दन्किरहेको उसको व्यथा अनि त्यसलाई लुकाउन ङिच्च हाँसो।

पुरुष अहंको पातलो पर्दाले छेलिराखेका रमेश काकाको उदाङ्गो हुननसकेका कथाहरू कति छन् होला, जो कुनै मुभमेन्टको हिस्सा हुन नपाई मरिरहेका छन्। फराकिलो अनि रौंदार छातीभित्रमा दबिएका यस्ता कति कथाहरू होलान् जो दबिरहेका छन्। मरिरहेका छन्।

म त्यो कथा लेख्नलाई अहिलेघरी कलम-कपीअघि बसिरहेकी छु। लौ त पाठकवर्ग कथा शुरू गरेँ, कथाको शीर्षक छ- #ही टु

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here