दार्जीलिङ, 9 अगस्तः दार्जीलिङ र कालेबुङ जिल्लामा बढ़िरहेको कोरोना भाइरसको सङ्क्रमणलाई लिएर सांसद राजु बिष्टले जीटीएका नेतृत्वहरूमाथि कटाक्ष गरेका छन्।
उनका अनुसार पछिल्लो अप्रेल महिनामा कोरोना सङ्क्रमण शून्य रहँदा यसको सफलताको श्रेय थाप्न व्यस्त जीटीएका नेताहरू अहिले गायब छन्। साथै दार्जीलिङ र कालेबुङ पहाड़मा कोभिडका मामिलाहरू यति गम्भीर रूपमा किन बढ़िरहेका छन् भन्ने प्रश्नको उनीहरूसँग कुनै उत्तर छैन।
‘उनीहरूले त्रिवेणीमा कोभिड अस्पताल स्थापित गरेको दावी गर्छन्। तर उनीहरूलाई थाह छैन, यस अस्पतालमा सुविधाहरू साह्रै अपर्याप्त छन् र गम्भीर बिरामीहरूको उपचारका लागि सक्षम छैन’, बिष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी थप भनेका छन्, ‘जीटीएका दावीहरू र धरातलीय वास्तविकताहरूबीच यस स्तरको भिन्नता छ कि त्रिवेणी अस्पतालमा कोभिडका कारण एक व्यक्तिको मृत्युपछि टिस्टा बजारलाई रोगाणुमुक्त गर्नका लागि मैले हस्पक्षेप गर्नु परेको थियो।’
दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका विभिन्न भाग, विशेषगरी सिलगढ़ीबाट कोभिड मामिलाहरूका अत्यन्तै चिन्ताजनक रिपोर्टहरू आफू पाइरहेको र सिलगढ़ीमा सामुदायिक सङ्क्रमण अब वास्तविकता बनेको देखिरहेको पनि बताएका छन् भने दार्जीलिङ संसदीय क्षेत्रमा कोभिडका मामिलाहरू र यसबाट हुने मृत्युको सङ्ख्यासम्बन्धी पश्चिम बङ्गाल सरकारका तथ्याङ्कहरू, मिडियामा रिपोर्ट गरिएको तथा स्थानीयहरूले आफूलाई बताइरहेको सङ्ख्यासँग मेल नखाएको भन्दै यो स्थानीय मानिसहरूका लागि झनै गम्भीर चिन्ताको विषय रहेको सांसदले बताएका छन्।
बिष्टले भनेका छन्, ‘मलाई जानकारी दिइएअनुसार दार्जीलिङ पहाड़मा अनेकौँ फ्रन्टलाइन कोभिडकर्मीहरूजस्तै नर्सहरू र पुलिसकर्मीहरू कोभिड पोजिटिभ भेटिएका छन्, तरैपनि यसबारे आधिकारिक पुष्टि गरिएको छैन। कोभिडसित सम्बन्धित मामिलाहरूका सत्यहरू र तथ्याङ्कहरूलाई लुकाउन तृणमूल कङ्ग्रेस सरकार किन लागिपरेको होला भनी बुझ्न मलाई गाह्रो भइरहेको छ। यी तथ्याङ्कहरू लुकाउनाले के फाइदा हुन्छ भनी बुझ्न पनि मलाई गाह्रो भइरहेको छ।
उनले थप भनेका छन्, ‘यो विश्वव्यापी महामारी हो र कोभिड मामिलाहरूका लागि कसैले पनि पश्चिम बङ्गाल सरकारमाथि आक्षेप लगाउने छैन। तर, अत्यधिक ढिलासुस्ती, अक्षमता, अनि छानेर, विवेकशून्य तथा सनकी ढङ्गले लकडाउन लागू गरेबापत उनीहरूलाई जिम्मेवार ठहर गरिनु नै पर्नेछ।’
सांसदले एक दैनिक समाचार पत्रमा सिलगढ़ीमा फ्रिजरहरू खराब रहेका कारण शव गृहहरूसमेत आधा क्षमतामा काम गरिरहेको प्रकाशित खबरलाई उद्धृत गर्दै भनेका छन्, ‘रोङ्गोमा एउटा प्रारम्भिक बिरामीलाई राम्ररी क्वारेन्टाइन नगरिएको कारण सारा गाउँलाई क्वारेन्टाइन गर्नुपरेको छ। लापरवाहीका यस्ता अनेकौँ मामिलाहरूबारे स्थानीयहरूले मलाई जानकारी दिइरहेका छन्। तर, प्रशासकहरूद्वारा ती मामिलाहरूलाई गम्भीरतापूर्वक हेरिएको छैन।’
यसैगरी उनले पश्चिम बङ्गाल सरकारलाई मानिसहरूका जीवनका साथ खेलाइँची नगर्न अनुरोध गरेका छन्।
‘मानिसहरूलाई कोभिडसित सम्बन्धित मामिलाहरू र मृत्युहरूको बारेमा सही जानकारी दिनु अत्यन्तै जरुरी छ’, बिष्टले भनेका छन्, ‘किनभने यसरी तीव्र गतिमा कन्टेक्ट ट्रेसिङ गर्नमा मद्दत पाइन्छ। र हाम्रो बहुमूल्य समय बच्छ, जसको परिणामस्वरूप धेरै ज्यान बचाउन सकिन्छ।’
यसका साथै सांसदले जिल्ला प्रशासनका अधिकारीहरूलाई बिना कुनै डर वा पूर्वाग्रह तथ्याङ्कहरू जारी गर्न अनुरोध पनि गरेका छन्।
उनले सांसद राजु बिष्टले यदि पश्चिम बङ्गाल सरकार वा जीटीएलाई आफ्नो कुनै मद्दत चाहिएको खण्डमा आफू कोभिडविरुद्ध लडाइँमा उनीहरूलाई सबै प्रकारका मद्दत दिन र सहयोग गर्न इच्छुक रहेको दोहोऱ्याएका छन्।
‘यदि हामी हाम्रा प्रयासहरूमा इमानदार हुन्छौँ र मिलेर काम गर्छौं भने मात्रै हामीले यो रोगलाई निर्मूल पार्न सक्नेछौँ’, उनले भनेका छन्।