कालेबुङ, 10 अगस्तः आज विभिन्न दल त्यागेर 220 भन्दा बढ़ी परिवारले विनयपन्थी गोजमुमोमा सामेल भएको दावी गरिएको छ।
कास्योङ-मन्सोङबाट 35 जना, प्रज्ज्वल सुजी र उज्ज्वल सिंहको नेतृत्वमा कालेबुङ शहरी क्षेत्रबाट 150 जना, मङ्गोल बस्ती तनेकबाट विमलपन्थी मोर्चाका 12 जना, कालेबुङ नगरपालिकाको वार्ड नम्बर 23 र 7 –बाट निमा ल्हमु भोटियाको अगुवाइमा जापका 9 जना समर्थक आज विनयपन्थी मोर्चामा सामेल भएको जनाइएको छ।
क्षेत्रीय राजनीतिक पार्टीलाई बलियो बनाउनुपर्ने, क्षेत्रीय राजनीतिक पार्टीको अस्तित्व रहे मात्र पहाड़मा गोर्खा सुरक्षित रहन्छ भन्ने सोच लिएर गोर्खा जनमुक्ति मोर्चामा सामेल उनीहरूले बताए।
यसैगरी गाउँ-घर र पहाड़को विकासमा जीटीएले राम्रो कार्य गरिरहेका भन्दै जीटीएको कार्यको उनीहरूले प्रशंसा पनि गरेका छन्।
समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै विनयपन्थी मोर्चाको कोर कमिटी सदस्य रूदेन लेप्चाले पार्टीमा आएर काम गर्ने सोच राख्नेहरूका लागि सधैँ पार्टीमा ठाउँ रहेको बताए।
यसका साथै उनले बेरोजगार गोर्खा युवाहरू अघि आएर पहाड़मा व्यापार वाणिज्यमा सहभागिता जनाउनुपर्ने आह्वान गरे।
यदि युवाहरू यस्तो सोच लिएर यस दिशातर्फ कदम चलाए, पार्टीले आवश्यक सहायता गर्ने पनि रूदेन लेप्चाले बताए।