दार्जीलिङ पहाड़लाई पहाड़कै छोरा/छोरीले नेतृत्व दिनुपर्छ : अनित थापा

0
1058

दार्जीलिङ, 11 अगस्तः दार्जीलिङ पहाड़लाई पहाड़कै छोरा वा छोरीले नेतृत्व दिनुपर्ने कुरा आज सम्पूर्ण पहाड़का जनताले अनुभव गर्न थालेको जीटीए अध्यक्ष अनित थापाले बताएका छन्।

उनले आज दार्जीलिङका सांसद राजु बिष्टमाथि कटाक्ष गर्दै पहाड़लाई केही पर्दा पहाड़मा नै पाइने नेता हुनुपर्ने बताएका छन्।

थापाका अनुसार अब आउने दिनहरूमा नेता चयन गर्दा जनताले यस विषयलाई विशेष याद राख्नुपर्छ, यो कुरा आज उनले मात्र होइन, तर समग्र पहाड़ले नै महसुस गरिरहेको छ।

‘यो गर्दैछौं र त्यो गरिरहेका छौं’ भनेर विज्ञापन गर्ने आफूहरूको प्रवृत्ति र संस्कार नरहेको भन्दै उनले कोभिडको बेला जीटीएले के र कसो गरिरहेको छ, त्यो जीटीएवासी राम्ररी थाह रहेको बताएका छन्। यसको उल्टा कोभिडको बेला राजु बिष्टको के-कस्तो योगदान रहेको छ, त्यो पनि त्यति धेरै भोट दिएर जिताउने जनतालाई राम्ररी थाह रहेको जीटीए अध्यक्षको भनाइ छ।

‘मैले बारम्बार भन्दै आएको हुँ, कोभिडको मुद्दा मानव जीवनसँग सम्बन्धित मुद्दा हो। अनि यो समस्याको निदान खोज्दा एकार्कालाई लाञ्छना लगाउनु बन्द गर्नुपर्छ’, बिष्टको आरोप र आलोचनामाथि प्रतिक्रिया व्यक्त गर्दै थापाले भनेका छन्, ‘मानव जीवनसँग सम्बन्धित मुद्दासँग जोड़िएको बेला मैले के गरेँ र उसले के गऱ्यो भनेर होइन। तर, मेरो यस विषयमा के कस्तो योगदान रहनेछ, त्यो सोच्नु पर्छ।’

यसैगरी सांसद बिष्टले त्रिवेणी अस्पताल विषयमाथि गरेको आलोचनाको जवाब दिँदै थापाले भनेका छन्, ‘जीटीए प्रशासन एउटा सानो प्रशासन हो। सानो भए पनि जसोतसो हामीले कोरोना सङ्क्रमणको व्यवस्थापन अनि रोकथामका लागि राम्ररी काम गरिरहेका छौं। जीटीएले दुःख गरेर त्रिवेणी कोभिड अस्पताल स्थापना गर्नसकेको छ। बिष्टले अस्पतालमा के चाहिन्छ, ती सामग्रीहरू पठाइदिएको भए उनको ठूलो योगदान रहने थियो। उनीसित टेस्टिङ ल्याबको माग गरिएको थियो।’

जीटीए अध्यक्षका अनुसार जीटीए आफ्नो वाचाअनुसार, त्रिवेणी अस्पतालमा भेन्टिलेटर, डाइलेसिस् मशिनसम्म जड़ान गरिसकेको छ। यसैले सांसद राजु बिष्टले जीटीएको कमी-कमजोरीमाथि लाञ्छना लगाउनको सट्टा यहाँ आएर काम गरिदिएको उचित हुनेथियो।

‘जीटीएका नेताहरू मात्रै होइन, सबै राजनैतिक दलका नेताहरू जीटीए क्षेत्रभित्रै छन्। प्रत्येक नेताहरूले आ-आफ्नो तरिकाले कोभिड सङ्क्रमणको रोकथाम अनि व्यवस्थापनका लागि योगदान पुऱ्याउने काम गरिरहेका छन्’ थापाले थप भनेका छन्, ‘सिलगढ़ीमा सांसद हराएको पोस्टर टाँसिँदा मैले एउटा गोर्खाको नातामा उनकै बचाउमा उठेर बोले। यदि मैले राजनीति गर्ने भए, त्यस्तो पोस्टर पहाड़मा पनि टाँसिने थियो। बिष्टले डाक्टर, नर्स आदि पनि कोरोना सङ्क्रमित भएको कुरा पनि उल्लेख गरेका छन्। उनीहरूले दिन रात सङ्क्रमित मानिसहरूको सेवा गरिरहेका छन्। सेवा गर्ने कर्मीहरू पनि सङ्क्रमित भएका छन्। तर, यो केवल जीटीए क्षेत्रमा मात्र भएको खबर अनि घटना होइन। उनीहरू फ्रन्टलाइनमा आएर काम गरेको कारण नै सङ्क्रमित बनिरहेका छन्।’

यसैले उनीहरूको  आलोचना होइन, तर प्रोत्साहन गर्नुपर्ने सांसदलाई उनको सुझाउ छ।

उनले थप भनेका छन्, ‘हामीले जीटीए क्षेत्रका लागि टेस्टिङ ल्याब मागेका थियौं, आज पनि त्यही माग गर्छौं। यसका लागि के सहयोग चाहिन्छ, त्यो सहयोग दिन जीटीए तयार छ। सांसद बिष्टले एकपल्ट 50 लाख रुपियाँ जिल्ला प्रशासनलाई कोभिडका लागि आवन्टन गरेको घोषणा गरेका थिए, तर त्यो राशि आजसम्म कहाँ अनि कहिले आयो, मलाई थाह छैन। यसबारे सांसद बिष्ट आफै जिल्लापाल कार्यालयमा गएर जाँच गरेको उचित हुनेछ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here