स्वतन्त्रता दिवसमा फ्रन्टलाइन वर्करहरूलाई सम्मान गरिने
गान्तोक, 12 अगस्तः स्वतन्त्रता दिवस समारोहलाई लिएर हिजो (मङ्गलबार) दक्षिण सिक्किमको नाम्चीमा जिल्लापाल रगुल के-को अध्यक्षतामा एक जरूरी सभा सम्पन्न भयो।
नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित सभामा अतिरिक्त जिल्लापाल सत्येन प्रधान, पुलिस अधीक्षक ठाकुर थापा, अतिरिक्त पुलिस अधीक्षक जे. जयापन्दीयनलगायत विभिन्न विभागीय प्रमुख अनि लाइन विभागका अन्य अधिकारीहरूको उपस्थिति थियो।
कोरोना भाइरसको महामारीबीच यसपटक जिल्ला प्रशासनले जिल्ला प्रशासनिक केन्द्रमा गृह मन्त्रालयको निर्देशिकालाई पालन गर्दै साधारण रूपमा स्वतन्त्रता दिवस पालन गर्ने निर्णय लिएको छ।
बैठकमा स्वतन्त्रता दिवस समारोहमा आफ्नो ज्यान जोखिममा पारेर जनसेवामा योगदान दिने फ्रन्टलाइन वर्कर, पुलिस, स्वास्थ्यकर्मी, सफाइकर्मीहरूलाई पनि अभिनन्दन जनाउने निर्णय लिइएको छ।
जिल्लापाल रगुल के-ले सबै अधिकारीलाई एका-अर्काको समन्वयमा कार्य गर्न तथा कार्यक्रमलाई सफल तुल्याउन आग्रह गरेका थिए।
यसैगरी उत्तर सिक्किमको मुख्यालय मङ्गनमा पनि आज स्वतन्त्रता दिवस विषय लिएर जिल्लापाल तेञ्जिङ टी. काल्योनको अध्यक्षतामा एक जरूरी सभा सम्पन्न भयो।
जिल्ला स्तरीय रूपमा पालन गरिने यस स्वतन्त्रता दिवस समारोहबारे चर्चा भएको छ।
वर्तमान स्थितिलाई ध्यानमा राखेर यस वर्ष साधारण रूपमा पालन गरिने निर्णय भएको छ।