अगस्त-सेप्टेम्बर महिनामा जीटीएको चुनाउ हुनेछ : विनय तामाङ

0
1415
लालकोठीमा पत्रकारहरूलाई सम्बोधन गर्दै विनय तामाङ। फोटो मुकेश शर्मा

दार्जीलिङ, २६ जनवरी : यसै वर्षको अगस्त-सेप्टेम्बर महिनामा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को चुनाउ हुने यसका बोर्ड अव एड्मिनिस्टेटर (बीओए) अध्यक्ष विनय तामाङले बताएका छन्। शुक्रबार जीटीएको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तामाङले यस्तो जानकारी गराएका हुन्।

उनका अनुसार राज्य सरकारले आगामी लोकसभा पछि र दशैं-तिहार अघि जीटीएको चुनाउ गराउने भएको छ।

“हामीले जीटीएको चुनाउ हुनुपर्छ भनी बारम्बार राज्य सरकारसँग माग गरेका थियौं, राज्यले ६-६ महिना जीटीएको मियाद बढ़ाएर लग्यो, तर अहिले त्यो स्थिति छैन। त्यसैले हामीले लोकसभा चुनाउ पछि र दशैं तिहार अघि जीटीएको चुनाउ हुनुपर्छ भनी माग गरेका थियौं, यसलाई राज्य सरकारले मानेको छ। हामी तपाईंहरूलाई आगामी अगस्त-सेप्टेम्बर महिनाभित्र जीटीएको चुनाउ हुने विश्वास दिलाउन चाहन्छौं।’’

पत्रकार सम्मेलनअवधि उनले जीटीएमार्फत् भइरहेका विकासका कार्यहरूबारे पनि जानकारी गराएका थिए। साथै आफूहरूले मुख्यमन्त्रीलाई दार्जीलिङ समस्या समाधानका लागि स्थायी समाधानको प्रस्ताव अगावै दिएको दाबी पनि विनय तामाङले गरे।

खरसाङको महकुमा अस्पताललाई भत्काएर कार पार्किङ बनाइने तथा यो अस्पताल अहिलेको निर्माणाधीन कार पार्किङ प्लाजामा सारेर अझ व्यवस्थित बनाइने योजना रहेको बताए। अहिलेको खरसाङ महकुमा अस्पताल साँघुरो भएको कारण धेरै समस्या रहेकोले गरिन लागेको उनको भनाइ छ।

साथै दिल्लीको साकेतमा ३२ करोड़को लागतमा गोर्खा वेलफेयर केन्द्र स्थापना गरिने पनि उनले जानकारी गराए। उनका अनुसार आगामी फरवरी महिनामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा यो गोर्खा वेलफेयर केन्द्रको शिलान्यास गरिने तय गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here