जाप प्रमुख डा. हर्कबहादुर छेत्री (फाइल फोटो)। |
कालेबुङ, 6 अक्टोबर : भारतीय जनता पार्टी (भाजपा) -ले भारतेली गोर्खाहरूको हित नचाहेको जनआन्दोलनको पार्टी (जाप)-ले बताएको छ। यदि भाजपा गोर्खाहरूको हितमा साँच्चै इमानदार भएको भए 2014 –मा एकल बहुमतमा यो पार्टीले सरकार बनाएपछि आजका दिनसम्म गोर्खाहरूको दीर्घकालीन मुद्दाको समाधान भइसक्ने थियो भन्ने जापको भनाइ छ।
शुक्रवार दिल्लीमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र केन्द्रिय गृहमन्त्रालयबीच भएको द्विपक्षीय वार्ताबारे प्रतिक्रिया व्यक्त गर्दै जाप प्रमुख डा. हर्कबहादुर छेत्रीले यस आशयको बयान दिएका हुन्।
उनले भने, “भाजपा साँच्चै गोर्खाहरूको मुद्दाप्रति इमानदार छ भने कुरा प्रमाण गरेर देखाओस्। भाजपाले जे नै दिइयोस्, तर दिसम्बर महिनाभित्रै दिइयोस्। हामीले यो कुरा शुरुदेखि नै भन्दै आएका छौं। केवल गोर्खाहरूको मुद्दालाई भोट बटुल्ने साधन नबनाओस्।’’ उनका अनुसार टाइम फ्रेम हेरेर चुनाउको मुखमै त्रिपक्षीय वार्ता कुरा गर्नु पुनः विमल गुरुङको सेन्टिमेन्टलाई प्रयोग गरी पहाड़को भोट आफ्नो पक्षमा पार्ने भाजपाको रणनीति मात्र हो।
“जापलाई थाहा छ, भाजपाले केवल पहाड़को भोट हेर्दैछ। पहाड़ र पहाड़वासीको मुद्दाप्रति भाजपालाई कुनै सरोकार छैन’’, डा. हर्कले थपे, “यदि साँच्चै सरोकार नै राख्ने भए गोर्खाल्यान्डलाई छोड़िदिऊँ गोर्खा समुदायका 11 जातगोष्ठीले यतिबेला अनुसूचित जनजातिको मान्यता पाउनेथियो।’’ उनका अनुसार नोभेम्बरमा त्रिपक्षीय वार्ता डाक्छु भन्ने केन्द्रले आगामी लोकसभा चुनाउलाई हेरेर टाइम फ्रमअनुसार कार्य गरिरहेको छ।
जाप प्रमुखले भने, “नोभेम्बरमा वार्ता राख्छु भन्नु भाजपाले आगामी लोकसभा चुनाउमा पुनः दार्जीलिङ पहाड़वासीको भोट आफ्नो पक्षमा पार्ने रणनीति बनाउनु हो। नोभेम्बरमा वार्ता भएपछि अर्को त्रिपक्षीय वार्ता दिसम्बरमा होला। त्यसपछि चुनाउको आचार संहिता लागू भएपछि चुनाउपछि दार्जीलिङको मुद्दाबारे वार्ता हुनेछ। तपाईंहरूले हामीलाई सहयोग गर्नुहोस् भाजपाले भन्नेछ। यसैले यो सोझै भाजपाको चुनाउ हत्याउने कोशिश मात्र हो। यदि भाजपाले दिसम्बरभित्र केही दिए, हामी हाम्रो पार्टी छोड़ेर खुल्ला रूपमा भाजपालाई सघाउनेछौं।’’
भाजपा अहिले पनि विमल गुरुङलाई उपयोग गरी आफ्नो स्वार्थपूर्ति गर्ने रणनीतिमा रहेको छेत्रीको दाबी छ। यसको एउटा उदाहरण हिजोको बैठक पनि हो। “मलाई विमल गुरुङको माया लाग्छ। उनले भाजपाको रणनीति बुझेका छैनन्’’, उनले थपे, “भाजपाले विमल गुरुङको अन्तिम रस पनि चुसेर फ्यात्त फ्याँक्ने रणनीतिमा छ।’’
अहिले पहाड़मा कुनै पार्टीको बहुमत नरहेकोले यदि त्रिपक्षीय वार्ता साँच्चै केन्द्रले डाके सबै पार्टीलाई निम्ताउनुपर्ने जाप प्रमुखको माग छ। यद्यपि त्रिपक्षीय वार्ताको सम्भावनालाई लिएर उनले शङ्का व्यक्त गरेका छन्। “आन्दोलन चरममा हुँदा राज्य सरकार त्रिपक्षीय वार्ता बस्न मानेकै छैन भनेर वार्ता टार्ने केन्द्रले नोभेम्बरमा डाक्ने भनिएको त्रिपक्षीय वार्तामा राज्य सरकार बस्ने भए त?’’, उनले प्रश्न गरेका छन्।