बाबाको बाडुली

1
3103

– रूपेश शर्मा

भनिन्छ, ‘माया नलागी बाडुली लाग्दैन।’ मिथक होस् या काकताली, मान्छेलाई मनमाफिक बाडुली लाग्दैन। बाडुलीको सृष्टिकथा जे भए पनि, हाम्रो मानसमा यो सम्झनाको विम्ब हो; प्रचलित लोकविश्वास हो। त्यसकारण मेरो यो संस्मरणमा पनि बाडुली-विचलन छैन।

मलाई बाडुली लाग्छ- कहिले बाबालाई सम्झेर कहिले छोरीका बाबा (आफै)-लाई सम्झेर। कोहीबेला तीन दिनसम्म घाँटी लगातार हिक्कहिक्क हुन्छ। सुन्नेहरू झर्को मान्छन्। हिक्का नरोकिएपछि तीन दिन अस्पताल बसेको छु एकपटक। कण्ठ त कोकिल नै भए राम्रो, कर्कस कण्ठ कसलाई मन पर्छ? तर लाग्छ, अप्रिय सम्झना पनि उतार्नु पर्छ विम्बमा कहिलेकाहीँ।

केही दिनअघि म आफ्नो प्रारम्भिक पाठशाला पुगेथेँ विद्यार्थीहरू भेट्न, चन्दा कलोनीका स्थानीय नानीहरूसँग पढ़ाइबारे सोधीखोजी गर्न। मलाई याद आए आफै शिशु हुँदाका दिनहरू। मिठो ‘बुल्गर’ सम्झेँ। यहीँको नेताजी प्राथमिक पाठशालाबाट शुरू भएको हो मेरो शिक्षा। पाठशालामा हुँदा कखअआको रट्टामा होइन बुल्गरकै बोरामा जान्थ्यो ध्यान। कति दिनलाई पुग्ने बुल्गर आएको छ, त्यसको समेत मनमनै हिसाब लाउँथेँ।

बाल्यकाल सम्झिँदा बाबा पनि सम्झन्छु। मज्जाले दोहोरो संवाद गर्ने उमेरसम्म आइनपुग्दै मैले बाबा गुमाइसकेको थिएँ। अर्थात् म ६ वर्षको हुँदा बाबा बिते। भाइ चार वर्ष, बहिनी एक वर्षका थिए। कलिलो मगजमा रहेको बाबासँगको स्मृतिचित्र थोरै अङ्कित छ मगजमा, तर स्थायीजस्तो। त्यो काल अत्यन्त छोटो भएर होला, मस्तिष्कमा सुरक्षित छ।

अमरनाथ शर्मा उनको नाम। लामो बाँचेका भए आफ्नो नामलाई न्याय गर्थे होला अवश्यै। १९५३ मा धरतीमा आए, १९७९ मा विलाए। २६ वर्षको अल्पायुमा उनले भ्याएजति गरे। ७० सालकै फाइनल पास। बद्रीनारायण प्रधानहरूका विद्यार्थी। गोपालसिंह विश्व, नरेन्द्र खड्काजस्ता प्रतिभावान साहित्यकारहरू उनका मिल्ने मित्र। ‘नेहरू सङ्घ तथा पुस्तकालय’-का संस्थापकमध्ये एक। सत्तरको दशकमा डुवर्स थर्काउने टिमहरूमा उनीहरूको पनि नाम थियो। सुनेथेँ, आफ्ना पिता पदमलाल शर्माका कुरा काट्दैन थिए मेरा पिता। हजुरबाकै करकापमा उनले बिहे गरे पढ्ने उमेरमा। अनि प्रि-युनिभर्सिटी पढ्दा पढ्दै प्राथमिक पाठशालामा जागिरे भए।

भाषा आन्दोलन जुलूसको अग्रणी मोर्चामा चिच्याउँदै गरेका केही फोटो हेर्छु, उनको सङ्ग्रामी विम्ब आँखामा नाच्छ। ‘प्रयास’ पत्रिकाको ६ अङ्क सरसर्ती पढ्छु, उनको साहित्यप्रेम मनमा खिलिन्छ। एक शिक्षकका रूपमा उनको चर्चा सुन्छु, गर्वित हुन्छु। साहित्यकार उनी थिएनन्, अपितु साहित्यलाई उकेरा लगाउने अग्रमोर्चामा जोधाहा थिए। ‘अमरनाथ सर’-ले पढ़ाएका धेरै पुराना विद्यार्थी आज पनि मलाई उनकै छोरा भनेर सम्बोधन गर्न रुचाउँछन्। देहवासनको यत्तिका वर्षपछि पनि उनलाई सम्झनेहरू भेटिरहन्छु। बाबाका सहपाठीहरू अझै भन्न छोड्दैनन्-“बाउ जस्तै छ यो पनि।” तर ‘बाउ’ कस्ता थिए, प्रत्यक्ष बोध छैन मलाई। उनका समपुस्ता र विद्यार्थीहरूले सुनाउँदै आएका ‘स्मृति’, देखाउँदै आएका दस्तावेज र जोगाएका फोटोहरू नै त हुन् बाबा चिन्ने मेरा आँखा। अन्तर्मुखी आमाका खिल गाड़िएका पीड़ा कोट्याउने हिम्मत छैन, ममा।

घरमा हिजोअस्तिसम्म थियो बाबा बस्ने बेतको कुर्सी। अरूतिर के-कसो, तर घरमा एउटै फोटो छ आमा-बाबाको। एकजोड़ा बेतका कुर्सीमा बसेर यी दम्पतिले भविष्यकै सम्झनाका लागि खिचेका थिए होलान् त्यो फोटो। बाबाको स्मरण धान्दै आएको कुर्सी पनि भत्किएपछि मन अमिलो बनाएर फ्याँकेथ्यौं त्यो। कुर्सीको हामी खूब जतन गर्थ्यौं। स्मृतिविम्ब जस्तै थियो त्यो। त्यस कुर्सीमा उफ्रीपाफ्री गर्न आमाले नै दिन्नथिन्। म्युजियमजस्तो सुरक्षित कहाँ हुन्छ र घर? बुढ्यौलीले बेत पनि त मक्किँदो रहेछ! बाबाको स्मृति बचाउने चिनो समेत नरहेपछि मस्तिष्कमा उनको पुनर्सिर्जना गर्नु मेरो विकल्प र बाध्यता दुवै हो।

नाकले थामेको ढ्याब्रे चश्मा, स्टाइलिस पाराले स्याट्ट कोर्न सकिने बाक्लो केश, बेगी पेन्ट, ओठमा मृदु मुस्कान, बेतको कुर्सीमा एउटा घुँड़ामाथि अर्को घुँड़ा खप्टाएर केही न केही पढ़िरहने मान्छे। सिलगढ़ीबाट आउँदा डोरीले बाँधेका अनारसका झुत्ता हातमा, बकेट टाइपको भाँड़ोमा बाम/मागुर माछा अनि छोराछोरीका लागि मिठाइ। पहिलो दृश्यले बाबाको छेउ नपर भन्थ्यो; दोस्रो दृश्यले बाबालाई नछोड़ भन्थ्यो। गम्भीर गुरुबासँग परपर; प्रेमिल पितासँग लुटुपुटु। बालचेतनाले पनि कसरी छुट्याउँथो यस्तो कुरा? उनी यिनै दुई दृश्यमा नाच्छन् आँखामा; बाँचेका छन् मनमा। काखको फिलामा राखेर उनले एकपटक सोधेथें, ‘मेरो छोरोलाई कस्तो नाना मन पर्छ?’ मैले जवाबमा भनेथें, ‘तपाईंको जस्तै बेगी पेन्ट!’ उनी हुरूक्क भएर हाँसेको मलाई सम्झना छ। ६ वर्षको बालकलाई कति कुरा याद होस्? उनका समकालीनहरूलाई आज पनि सोधिरहन्छु बाबाका विशेषता, पिताजीका पितृसत्ता।

तीन-चार वर्षको हुँदा म बाबासँगै साइकलको रियर फ्रेममा बसेर बाबाकै स्कूल जान थालेँ। घरबाट लगभग दुई किलोमिटर टाढ़ाको स्कूल बगानको सर्टकर्ट बाटो भएर पुग्थ्यौँ। छोराको चाक दुख्छ भनेर फ्रेममा बाक्लो लुगा ओछ्याउँथे उनी। बन्थ्यो चाक आट्ने चकटी। घरबाट निस्केपछि मेरो धाक शुरू भइहाल्थ्यो। त्यसबेला मजस्तो बालकले साइकल चढ्नु कम सानको कुरा थिएन। सफा लुगा, खानेतेल घसेको केस, खुट्टामा पोलिस लगाएको जुत्ता। यति भएपछि बाटोमा खेल्दै गरेका धुस्रे-मुस्रे साथीहरूलाई जिब्रो निकालेर जिस्काउनु, फूर्ति लगाउनु क्या मजा आउँथ्यो!

भाइ-बहिनी पढ्ने पत्तोअत्तो थिएन। साइकल चढ्ने आनन्दले म स्कूल जान्थेँ। रेलको लिक पार गरेपछि स्कूल आउँछ। गाउँलेहरूले आफ्नो सजिलोका लागि त्यो बाटो बनाएकोले रेलवेले त्यहाँ रेल गेट लगाउने कुरै भएन। दुवैतिर तारको नाघ्न सकिने घेरा थियो। साइकल कुमले उचालेर बाबाले पार गर्ने त्यो जोखिमपूर्ण क्रसिङले मेरो मुटु च्यू च्यू पार्थ्यो।

बोली राम्रैसँग फुटेपछि म स्कूल भर्ती भएथेँ। त्यसताक ६ वर्षभन्दा अघि सरकारी प्राथमिक पाठशालामा भर्ना हुँदैनथ्यो। शिक्षक पिताका छोरोले त्यति फाइदा किन नपाओस्? गाउँमा अङ्ग्रेजी विद्यालय थिएन। त्यसबेला नानीहरूलाई मिड डे मिलमा बुल्गर दिने चलन थियो, त्यो पनि सधैँ होइन। आह, बुल्गरको स्वादै अर्को। मुखमा मिठास मड़ाडिएपछि स्कूल किन नागा गरिन्थ्यो?

बाबाले सात वर्ष पनि पूरा पढ़ाउन पाएनन्। त्यसबेलाको सरकारी नोकरीले परिवारमा ठूलो महत्त्व राख्थ्यो। मलाई के थाह, मेरो बाल्यकालले मसँग कठिन परीक्षा लिनेवाला छ? बाबा अचानक बिरामी भएर सिलगढ़ी राखेको कताकता सुनेजस्तो लाग्छ। हेर्न भनेर हामीलाई कसले लान्थ्यो सिलगढ़ीको नर्सिङ होम? बबुरो बालक म। एक बिहान १०-११ बजेको हुँदो हो, भाइ र म सिकुवामा बसेर दूध रोटी खाइरहेका थियौं। अचानक एम्बुलेन्स आएर घर अगाड़ि रोकियो। केही मानिस सेतो कपड़ामा बेरेको मान्छे ल्याउँदै सिकुवाबाट हामीलाई हटाउन थालेँ। त्यो कपड़ामा को ल्याएको थियो भन्ने कुरा समेत बुझ्न नपाई भाइ र मलाई अन्यत्र लगियो। रुवाबासीको आवाज नपुग्ने घरमा पुगेँ म। आमा कति घण्टा बेहोश भइछन्। रुनु कि हाँस्नु?- बालसुलभ मन ट्वाल्ल थियो। हाम्रा हातमा समवेदनाका केही हावा मिठाई परे। तीन-चार घण्टापछि एकोहोरो शङ्ख फुकेको आवाज आयो। त्यसपछि केही मानिसहरू भीड़मा हिँड़ेको परबाट देखें। बाबाको मृत अनुहार मलाई देखाए/देखाएनन् यकिन छैन। देखाएका भए त्यो कहालीलाग्दो दृश्य कसरी भुल्न सक्थेँ हुँला? घरमा कोही मरेको धमिलो अनुमान थियो। हजुरबा पो खसेका होलान् भन्ने भ्रम भोलिपल्टसम्म रह्यो। उनलाई जिउँदै देखेपछि मात्र झसङ्ग भएँ। परिवारमा सबैभन्दा बूढ़ा उनी नै थिए। मान्छे बूढ़ो भएर त मर्छ नि केटाकेटीका लागि! २६ वर्षका बाबु त्यसरी अचानक हामीलाई छोड़ेर जालान् भनेर कुन ६ वर्षे छोरोको बुद्धिले कल्पना गर्न सक्ला? पछि अरूबाट सुनेँ, किडनी फेलुर भएको कारण उनको मृत्यु भएको रे, मित्र क्लिनिकमा।

त्यति क्रुर र असामान्य दिनहरू कसरी साम्य भए, थाह छैन। केही दिन भाइ र मेरा हातमा सहानुभूतिका खुद्रा पैसा र दयाभावका चकलेटहरू परिरहे। १३ दिनपछि हाम्रो घर सुनसान भयो, ठूलो आँधीपछिको उजाड़ परिवेशजस्तो। आमाको धैर्य, आत्मविश्वास र त्याग नभएको भए म सायदै यी शब्दहरू कोर्न सक्थेँ। उनले आफूलाई बिर्सिएर हामीलाई हुर्काइन्। कैयौं दिनसम्म हामी बाबाको फोटो हेर्दै भन्थ्यौं-‘बाबा आउनुहुन्छ, बाबा आउनुहुन्छ।’ ‘बाबा खोइ’ भनेर सोध्दा आमाले दिने यही झूटो आश्वासनले हामीलाई एकाध वर्ष आश्वस्त पारिरह्यो। हामीलाई ढाँट्दैपिच्छे आमा घोप्टो परेर आँसु पुछथिन्। परिस्थितिले हामीलाई बाबाविहीन बाँच्न अभ्यस्त बनाउँदै लग्यो। बाबा-आमा दुवैको भूमिकामा अब हामीले संवेदनशील, सङ्घर्षशील र मातृत्वले ओतप्रोत आमा पाएका थियौँ। बाबाको विम्ब मस्तिष्कमा उतार्न सायद मैले मात्र सकेँ। भाइ-बहिनी त्यो उमेरका थिएनन्।

बाबाको मृत्युको लगभग चार वर्षपछि घरमा फेरि अर्को समस्या थपियो। बहिनीलाई अलल्लिने बिमारले छोप्यो। केही कारणले रुन थालेपछि तीन-चार फन्को घुमेर भुक्लुक्क लड्थी अनि बेहोश हुन्थी। रुवाबास चल्थ्यो घरमा। छिमेकीहरू कुदेर आउँथे। पानी छम्कँदा-छम्कँदा गरेपछि निक्कै पछि होश आउँथ्यो। शुरू-शुरूमा हामीले केही बुझ्न सकेनौँ। आमाले धेरै झारफूक गरिन्। १० वर्षको उमेरसम्म त्यसलाई यो रोगले छोड़ेन। सिलगढ़ीमा राम्रो डाक्टर देखाएपछि मात्र बहिनी जाती भई। आमाको तनाउ केही कम भयो।

८ अगस्त, १९७९ मा बाबा बितेपछि पाँच महिना मैले पढ़्न पाइनँ। अगस्त महिनाको बीचमा कुनै स्कूलले भर्ना लिएन। १९८० सालमा म बाग्राकोट प्राइमेरी स्कूलमा १ क्लासमा भर्ना भएँ।

आमा सबैभन्दा कान्छी छोरी। उनका दुई दिदी विवाह भइसकेका। यो सङ्कटमा पनि छोराछोरी हुर्काउने भरथेग उनले पाइनन्। आमा काममा जाँदा हामीलाई फुपूहरूले स्याहार्थे। सुकिलो हुँदा बोक्ने र गाला चाट्नेहरू गाउँभरि थिए, जसरी अहिले पनि हुन्छन्।

विवाह गरेको लगत्तैपछि आमा चिया श्रमिक बनेकी थिइन्। श्रमिक नै भए पनि बगानमा ‘नीज’ काम हुनु उसबेला मानकै विषय थियो। साउँ अक्षर नचिनेकी आमा हजुरबाहरूका लागि यसैको त काबिल थिइन्! दुवैतिरका हजुरबाहरूले मिलेमतो गरेपछि एकले अर्कालाई नचिनेका आमा-बाबा जीवनसाथी बनेका थिए। सायद दुवैका इच्छाविरुद्ध थियो यो निर्णय। आमाको अशिक्षा बाबाको लागि आफ्नो पठित सर्कलमा हीनताको कारण थियो। पढ्न नपाएर बगाने हुनुको पीड़ा आमाले बोकेकै थिइन्।

आजको जस्तो समय भए त्यति नाम चलेका शिक्षककी पत्नीले घण्टी हल्लाउनेसम्म काम त पाउँथिन् डाइ-इन-हारनेस केसमा। तर कति शिक्षित पो छन् र अशिक्षितलाई सहयोग गर्ने? उसबेलादेखि यसबेलासम्म सामाजिक सोपानतन्त्रको नाघ्नै नसक्ने खुड्किलो कायमै छ। अधिकांश निर्धन समाजसेवीका परिवारको नियति आज पनि यस्तै छ। परोपकारीहरूको पेट नहुनु नि! शिक्षकपत्नी निर्मला शर्मा आफ्नै पयरमा उभिइन् चिया श्रमिक भएर। उनको अदम्य साहस र मातृसत्ता डगमगाएन। श्रम उनको आत्मनिर्भरता र छोराछोरी पालनपोषणको आधार बन्यो। आफ्नो पसिना र पौरख छोराछोरी बनाउन लगाइन्। आफ्नो हड्डी खियाएर हाम्रो अस्थिमज्जा बलियो बनाइन्।

अहिले आमा ६८ वर्ष पुगिन्। बाबा बित्दा उनी पनि २६ वर्षकी थिइन्। उनले आफ्नो जीवन बाँच्न पाइनन्। छोराछोरीका लागि घोटिँदा-घोटिँदै उनका इच्छाहरू मरे। जीवनका स्वाभाविक आनन्दहरू गायब भए। एकातिर पतिवियोग, अर्कातिर तीन लालाबाला हुर्काउने पहाड़जस्तो गह्रौं जिम्मेवारी। घरमा आर्थिक विपन्नतासित लड्नुपर्ने, समाजमा विधवाप्रतिको टोकसोसँग जुझ्नुपर्ने। तर उनले हार खाइनन्। छोराछोरी नै उनको संसार भए। अपठित भए पनि उच्च मानवीय संवेदना थियो उनमा। उनले नयाँ ऊर्जा समेटेर हामीलाई शिक्षाको ज्योति देखाइन्। आमाले रगत सुकाएकी थिइन् र नै हामीले पसिना पनि बगाउन परेन।

उमेरमै ऐंचिनु कति पीड़ादायी हुन्छ, त्यो मेरी आमालाई जति कसलाई थाहा होला र! लामो सङ्घर्षले थिलथिलिएको उनको शरीर चिसो-तातो दुवै मौसममा दुख्दो हो। तर, उहिलेजस्तै आज पनि उनी दु:ख लुकाउँछिन्। म भनिरहन्छु, ‘अब तपाईंले केही गर्न पर्दैन। घुम्न र इच्छा परेका कुराहरू मात्र गर्नुहोस्।’ आठ-दश वर्षदेखि उनलाई मनग्ने पुग्ने पेन्सन आउँदैछ। छोराछोरीसँग रुपियाँ-पैसा माग्न पर्दैन। तरै, छोरा-नातिहरूका लागि आफ्नो माया रित्याउन पाउँदा उनको मन उहिले जस्तै खुशी हुन्छ। उनलाई कतै घुम्ने इच्छा छैन, तीर्थाटन जाने मन छैन, हावाजहाज चढ्ने रहर छैन। खासमा, घुम्ने/घुमाउने हाम्रा प्रस्तावहरूमा उनको कुनै आकर्षण छैन। आखिर आफ्नै इच्छाहरू मारेर त उनले जन्माएकी हुन् हामीमा अभिलाषा! उनका मूर्च्छित इच्छाहरू जगाउन सायदै म सकुँला। घर्केको समयको ठाउँ उपलब्ध समयले कहाँ लिन सकेको छ र!?

आमाको सङ्घर्ष र दु:खले मलाई सानै उमेरदेखि जिम्मेवार, अनुशासित र बुझकी बनाउँदै लग्यो। धेरैपछि आमालाई सोधेथेँ, ‘‘तपाईंले किन नपढ्नु भएको?’’ आफ्नो बाबुप्रति उनले खुलेरै आक्रोश पोखेथिन्,’’तेरो बा-ले पढ़ाउँथे र! स्कूल पढ्यो भने केटालाई चिट्ठी लेखेर भाग्छे भनेर नपढ़ाका रे। छोरी भएर किन पढ्नु? अर्काको भित्ता टाल्ने जात भन्थे। १५ वर्षकै उमेरमा तेरो बाउसँग बिहे गरिदिए, एकवचन नसोधी।’’ आमाले यसो भनिरहँदा उनका रहर, इच्छा, आकांक्षा र सपनाहरू रूढ़िवादको बलि चढ़िसकेको बोध गरें।

उमेर नपुग्दै ममा संवेदनशीलता उच्च हुनथाल्यो। आठौं श्रेणी पढ्दादेखि नै गर्मीको एकमहिने छुट्टीमा बगानमा ‘छोकड़ा’ काम गर्थें। ६ घण्टा काम गर्दा ६ रुपियाँ हाजिरा पाउँथें। तीन वर्ष यो क्रम दोहोरियो। त्यसपछि लाँठे ‘मरद’ भएँ र फ्याक्ट्रीपट्टि प्रमोशन भयो। दुई वर्ष डबलडाइमनमा चिया प्याकिङको काम गरें। चिया बगानहरूमा अहिले पनि पत्ती टिप्ने ‘औरत’ र फ्याक्ट्रीमा काम गर्ने मरदको हाजिरामा केही रुपियाँको फरक छ। मैले काम गरेरै पढ़ेँ; पढ़ेरै काम गरेँ। सातौं श्रेणीदेखि दश वर्ष जति त ट्युसन नै पढ़ाएँ। यी सबै काम मेरा लागि बोझ थिएनन्, आवश्यकता थिए। नगरे पढ्नै मुश्किल। जसरी आमा हाम्रा लागि कर्तव्यशील थिइन्, म पनि भाइ-बहिनीप्रति दायित्वशील भएँ।

कोहीबेला असामान्य पीड़ाहरू हुन्थ्यो, तरै पनि विचलित बनिनँ। बाल्यकालमै आइपरेका समस्याहरूले थिचिँदा सहनशक्ति बढ्यो, अनुभव बटुलेँ, परेर बुद्धि केही तिखारियो। आत्मविश्वास बढ्दै गयो। बाल्यकालदेखिका सङ्घर्षहरूले ममा शक्ति भर्दै थिएछ, सङ्घर्षशील चेतना विकास गर्दै रहेछ। संवेदना चर्किएका बेला आमाका दु:ख सम्झन्छु, मेरा सबै फिका लाग्छन्।

सोच्छु, बाबाको बाडुली लागिरहोस्। त्यो बाडुलीसँग कति कथा जोड़िएको छ। उप-कथाहरू झन् अनगन्ती। म स्वयं यतिबेला एक छोरीको बाबा हुँ। बाबा हुनु र बाबा नहुनुबीचको स्पेसमा बल्झिरहोस् बाडुली, जसमा कि म आमाको त्यागको मूल्य बुझ्न सकुँ; छोरीको सपनालाई उचाल्न सकुँ, आमाले जस्तै।

1 टिप्पणी

  1. रूपेशजीको संस्मरणले मन छोयो। बाल्यावस्थादेखि कमाने जीवनमा संघर्षका उकाली ओह्रालीहरुमा चाकालचुकुल , लुकामारी खेल्दै हुर्केका पलहरूले आँखा रसायो। लेख ओजपूर्ण भएको छ। शुभेच्छा।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here