स्थायीकरणको मागमा एकीकृत कर्मचारी सङ्गठनले भोलिदेखि लालकोठीमा धरना दिने

0
1713

दार्जीलिङ, 16 अगस्तः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले आफ्नो स्थायीकरणको मागलाई पूरा गर्ने कुनै सम्भावना नदेखेपछि जीटीएमा कार्यरत पे-ब्याण्ड कर्मचारीहरूले भोलि 17 अगस्तदेखि जीटीएको मुख्यालय लालकोठीअघि नै धरना प्रदर्शन शुरू गर्ने चेताउनी दिएको छ।

यति मात्रै होइन, धरना प्रदर्शन कार्यक्रमले पनि उनीहरूको माग पूरा नभए यी कर्मचारीहरूले पेनडाउन हड़्तालका साथै अन्य आन्दोलनात्मक कार्यक्रमहरू गर्ने पनि योजना बनाएका छन्।

हिजो 15 अगस्त स्वतन्त्रता दिवस समारोहको अवसरमा जीटीएमा कार्यरत् कर्मचारीहरूको सङ्गठन एकीकृत कर्मचारी सङ्गठनका पदाधिकारीवर्गले जीटीए बीओएका अध्यक्ष अनित थापा, जीटीएका मुख्य सचिव आदिसँग भेट गरी जीटीएमा विगत कैयौं वर्षदेखि अस्थायी अनि पे-ब्याण्ड कर्मचारीको रूपमा कार्यरत सम्पूर्ण कर्मचारीलाई स्थायी गराउने माग लिएर भेट गरेका थिए।

यद्यपि उक्त भेटघाटमा जीटीएका शीर्ष पदाधिकारीवर्गबाट उनीहरूको स्थायीकरणको मुद्दामाथि सकारात्मक आश्वसान नपाएपछि उनीहरूले 17 अगस्तदेखि लालकोठीमा नै धरना प्रदर्शन शुरू गर्ने घोषणा गरेका हुन्।

यस विषय लिएर पत्रकारहरूसित कुराकानी गर्दै सङ्गठनका महासचिव एसबी खवासले भने, “दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद्) कालदेखि नै अस्थायी कर्मचारीको रूपमा कार्यरत कर्मचारीहरूलाई जीटीएको गठन भएपछि केही वर्षअघि पे-ब्याण्ड कर्मचारीको रूपमा मान्यता दिइएको छ। जसको मासिक वेतनमा केही बढ़ोत्तरी भए पनि स्थायी कर्मचारीहरूले जस्तो अन्य सुविधाहरू पाउन सकिएको छैन। यसैले जीटीएमा कार्यरत पे-ब्याण्ड कर्मचारीहरूले न भविष्यनिधि कोषको सुविधा पाइरहेका छन्, न अवकाश ग्रहणपछि कुनै सुविधा। यसैले यी सम्पूर्ण सुविधा उपलब्ध गराउनुपर्छ भनेर नै स्थायीकरणको माग गरिएको हो।’’

यस विषय लिएर कर्मचारी सङ्गठनले जीटीएका शीर्ष पदाधिकारीवर्गका साथै राज्य सरकारसमक्ष पनि धेरैपल्ट ज्ञापन दिइसकेको छ तथा यसका लागि गर्नुपर्ने सम्पूर्ण कार्यहरू गरिसकेको पनि उनले बताएका छन्।

खवासका अनुसार तरै पनि यसमाथि जीटीए प्रशासनले ठोस केही गरेको छैन। यसैले बाध्य भएर नै एकीकृत कर्मचारी सङ्गठनले 17 अगस्तदेखि धरना प्रदर्शन शुरू गर्ने योजना बनाएको हो।

यसैबीच, सङ्गठनले एक पर्चा जारी गरेर जीटीएको सत्ता सञ्चालन गर्ने विनय तामाङपन्थी गोजमुमोलाई नयाँ सोच नयाँ विचार भन्ने पार्टीलाई साथ दिनु पनि रातभरि रुँग्यो, बूढ़ी ज्युँदै भने जस्तो भएको बताएको छ। उनले जीटीएबाटै पे ब्याण्ड कर्मचारीहरूले कुनै प्रकारको न्याय नपाएको पनि बताए। उनका अनुसार जीटीएले केही नगरेकै कारण आफूहरू लालकोठीमा धरना प्रदर्शन गर्न लागिरहेको पनि बताएका छन्।

पर्चामा भनिएको छ, ‘2017-को 105 दिने आन्दोलनपछि यस पहाड़मा नयाँ राजनैतिक समीकरण शुरू भयो। नयाँ सोच-नयाँ विचार भन्ने विचारधाराको नाममा नयाँ राजनैतिक शासन शुरू भयो। यस्तो विचारधारा राख्नेहरूले जीटीएमा वर्षौंदेखि काम गर्ने कर्मचारीहरूको समस्या समाधान गर्छ भन्ने विश्वास राखिएको थियो अनि शुरूदेखि नै साथमा साथ दिँदै आयौं। तर, तीन वर्षको समय बित्न लाग्दा पनि रातभरि रुँग्यो, बूढ़ी ज्युँदै भन्ने उखान नै चरितार्थ भएर गइरहेको छ।

एकीकृत कर्मचारी सङ्गठन पनि विनयपन्थी गोजमुमोको भ्रातृ सङ्गठन बनेको तीन वर्ष नै भइसकेको पर्चा बताइएको छ। तर, यसबाट पनि कुनै ठोस कार्य हुने सङ्केत पाइएको छैन।

पर्चामा थप भनिएको छ, ‘तीन वर्षसम्म हामीले सौहार्द, शान्ति, सरकारी अधिनियमहरूलाई पूर्णरूपले पालन गर्दै स्थायीकरणका लागि लेखापढ़ी गऱ्यौं, तर कतैबाट पनि सकारात्मक पहल नभएपछि आन्दोलनको मार्ग अप्नाउन बाध्य भएका हौं।

यसका साथै पर्चामा सम्पूर्ण कर्मचारीलाई आफ्नो सम्मान र अधिकार प्राप्त गर्न यस अन्तिम लड़ाइँमा सहभागी बनिदिने पनि अपील गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here