वेलिङ्टन, २६ जनवरी : अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै लगातार उत्कृष्ट बलिङ गरिरहेका कुलदीप यादवले शनिवार न्युजील्याण्डविरुद्ध दोस्रो वानडेमा विशेष उपलब्धि प्राप्त गरेका छन्।
भारतका यी दुर्लभ चाइनाम्यान बलरले न्युजील्याण्डमा लगातार दुईवटा म्याचमा चार-चार विकेट लिने उपलब्धि आफ्नो नाममा गरेका हुन्। आज खेलिएको दोस्रो वानडेमा कुलदीपले ४५ रन खर्चेर ४ विकेट लिए।
यसभन्दा अघि २३ जनवरीको दिन नेपियरमा खेलिएको पहिलो वानडेमा पनि उनले आफ्नो निर्धारित १० ओभरको कोटामा ३९ रन खर्चेर ४ विकेट लिएका थिए।
यसका साथै कुलदीप न्युजील्याण्डको मैदानमा लगातार दुई म्याचमा चार-चार विकेट लिने पहिलो स्पीनर बनेका छन्। भारतको लगातार दोस्रो जीतमा कुलदीपको यो प्रदर्शनको विशेष योगदान रहेको थियो।