खरसाङ, 17 अगस्तः रोहिणी रोडको कारगिल डाँड़ादेखि माथिल्लो ठूलो गोलाइमा वाहन दुर्घटना हुँदा चार युवकको मृत्यु भएको छ, जबकि एक युवकको खोजी जारी छ। दुर्घटना परी मृत्यु हुने सबै युवक सिलगढ़ीनिवासी रहेको बताइएको छ।
खरसाङका अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन दासले दिएको जानकारीका अनुसार दुर्घटना 15 अगस्त शनिबारका दिन भएको हो। खरसाङबाट सिलगढ़ी फर्किरहेको समय मारुती स्विप्ट गाड़ी कारगिल डाँड़ादेखि माथिल्लो ठूलो गोलाइबाट करिब हजार फिट तल झरेको बताइएको छ।
दुईजना शव हिजो र थप दुईजना शव आज बरामद गरिएको हो। करिब तीन सय फिट तलबाट चारवटै शव बरामद गरिएको दासले बताएका छन्।
मृतकहरूका नाम विक्रम दास, रिषभ दास, शुभरत दास र अभ्रानिल कुण्डु रहेको बताइएको छ।
उनका अनुसार दुर्घटनामा थप एकजना बेपत्ता बनेका छन्, जसको खोजीकार्य पुलिसले गरिरहेको छ। जानकारीका अनुसार बेपत्ता बनेका युवक सिलगढ़ी मिलनपल्लीनिवासी हुन्। यसैगरी दुर्घटनाग्रस्त वाहन पनि भेट्टाउन सकिएको छैन।
अर्कोतिर, जानकारीका अनुसार दुर्घटना परी ज्यान गुमाउने चार युवक सिलगढ़ी रथखोलानिवासी हुन्। स्थानीय सूत्रका अनुसार उनीहरू कलेजका विद्यार्थी हुन्। उनीहरूको उमेर 18-22 वर्षबीच रहेको बताइएको छ।
प्राप्त जानकारीका अनुसार उनीहरू 15 अगस्तका दिन डुवर्स घुमेर सिलगढ़ी फर्केपछि पुनः घुम्नका लागि खरसाङतर्फ आएका थिए। खरसाङ घुमिसकेपछि उनीहरू राति सिलगढ़ी फर्किरहेको बेला कारगिल डाँड़ामा दुर्घटनामा परेका हुन्।