जीटीएका पे-ब्याण्ड कर्मचारीहरूको धरना शुरू

0
1050

दार्जीलिङ, 17 अगस्तः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का विभिन्न विभागमा कार्यरत् पे-ब्याण्ड कर्मचारीहरूले स्थायीकरणको माग गर्दै आजदेखि एक सप्ताहव्यापी गेटसभा वा धरना शुरू गरेका छन्।

एकीकृत कर्मचारी सङ्गठनको अगुवाइमा जीटीएका मुख्य कार्यालयहरूअघि शुरू गरिएको यो गेटसभा वा धरना कार्यक्रमले पनि जीटीए प्रशासनको ध्यान कर्मचारीहरूका समस्यामाथि आकर्षण नभए अन्य आन्दोलनात्मक कार्यक्रम गर्ने योजना बनाएको सङ्गठनले बताएको छ।

जीटीएमा कार्यरत् कर्मचारीहरूले विगत कैयौं वर्षदेखि स्थायीकरणको माग गर्दै आइरहेका छन्। साथै यसका लागि यी कर्मचारीहरूले जुलूस, धरना, नाराबाजीदेखि अनशनसमेत गरिसकेका छन्। तरै पनि अहिलेसम्म पनि उनीहरूको यो समस्या समाधान भएकै छैन।

यसै विषय लिएर गत 15 अगस्तका दिन फेरि एकीकृत कर्मचारी सङ्गठनको एक प्रतिनिधि टोलीले जीटीएका शीर्ष पदाधिकारीवर्गसित भेट गरी स्थायीकरणका लागि कुरा गरेको थियो। तर, त्यस समय पनि जीटीए प्रशासनबाट ठोस कुनै आश्‍वासन नपाउँदा नै कर्मचारी सङ्गठनले आज 17 अगस्तदेखि जीटीएको मुख्य कार्यालय लालकोठीदेखि अन्य कार्यालयहरूअघि धरना प्रदर्शन गर्ने घोषणा गरेको थियो। जसका अनुसार, आज बिहान 11 बजीदेखि एकीकृत कर्मचारी सङ्गठनको अगुवाइमा लालकोठीसँगै लुइस जुब्लीमा पनि धरना प्रदर्शन गरियो।

यसबारे एकीकृत कर्मचारी सङ्गठनका प्रवक्ता शेखर थापासित सोध्दा उनले भने, ‘‘विगत धेरै वर्षदेखि नै जीटीएमा कार्यरत पे-ब्याण्ड कर्मचारीहरूले स्थायीकरणको माग गर्दै आइरहेका छन्। तर, प्रशासनको कोल्टे नीतिको कारण अझैसम्म यी कर्मचारीहरूले न्याय पाउन सकिरहेका छैनन्।’’

यसैकारण आजदेखि बिहान एक घण्टाको धरना प्रदर्शन वा गेट सभा गर्ने कार्यक्रम शुरू गरिएको तथा आफ्नो कार्यावधिभरि सम्पूर्ण कर्मचारीले पाखुरामा कालो पट्टी बाँधेर प्रशासनको नीतिको विरोध जनाउने उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here