खरसाङ, 19 अगस्तः लङभ्यु चियाकमानका श्रमिकहरूलाई अहिलेघरी ‘मानमाथि भुक्तमान’ भनेझैँ भइरहेको छ।
उनीहरूले न पछिल्लो वर्ष बोनस नै पूर्ण पाए, न त वेतन नै सही समयमा नियमित रूपले पाइरहेका छन्, जसका कारण कोरोना कहरमा लङभ्यु चियाकमानका श्रमिकहरूको जीवन थप कष्टप्रद बितिरहेछ।
मालिकले गरेको यस्तो अन्यायको विरोधमा आजदेखि उनीहरू मुख्य कार्यालयअघि अनशनमा बसेका छन्। अनशन बस्नेहरूमा दार्जीलिङ तराई, डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का अध्यक्ष सन्तोष गोले, सचिव सत्यम थापालगायत हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-का सचिव वीरेन्द्र छेत्री, उपाध्यक्ष चम्पा छेत्री र सल्लाहकार कल्पना बम्जन छन्।
रहल बोनस र नियमित रूपमा वेतन दिइनुपर्ने उनीहरूको माग छ।
डीटीडीपीएलयूका अध्यक्ष सन्तोष गोलेले जनसंवादलाई बताएअनुसार श्रमिक र कर्मचारीहरूले न पछिल्लो वर्षको बोनस पूर्ण पाएका छन्, न त वेतन नै समयमा पाइरहेका छन्।
लङभ्यु चियाकमान बन्द भन्यौं त खुल्लै छ, खुल्ला भन्यौं त काम गरेको खर्च नै श्रमिकहरू पाएका छैनन्। मालिकले सधैँ बहाना बनाए टालटाल गर्दै आइरहेको उनीहरूको भनाइ छ।
बर्खाको समयमा रूझी भिजी गरेको श्रमको मूल्य पाउनका लागि अहिले श्रमिकहरू अनशन बस्न परिरहेको छ। यो भन्दा ठूलो विडम्बना अर्को के हुन सक्ला!
“हामीले पाँच सातामा एकपटक वेतन पाइरहेका छौं। त्यो पनि नियमित रूपमा पाइरहेका छैनौं। त्यसका लागि पनि आवाज उठाउन परिरहेको छ”, उनले थपे, “पछिल्लो वर्षको बोनसको टुङ्गै छैन। हामीमाथि अन्यायमाथि अन्याय भइरहेको छ।”
गोलेका अनुसार मालिकले बोनस वितरणमा जुन मनमानी देखाएको छ, त्यो झन् अन्यायपूर्ण छ। दुई किस्तीमा दिने भनिएको 20 प्रतिशतको बोनसमा कतिले अहिलेसम्म 8 प्रतिशत मात्र पाएका छन्, कतिले यो भन्दा कम्ती 6 प्रतिशत मात्र।
अझ बिघा (अस्थायी श्रमिक)-हरूले त 20 प्रतिशतमा अहिलेसम्म एकै प्रतिशत पनि पाएका छैनन्। बोनस र सबै वेतन दिने वाचाबाट मालिक थुप्रैपटक पर हटिसकेका छन्।
पछिल्लोपटक 25 जूनका दिन पनि मालिकपक्षले यस्तै वाचा गरेको थियो, तर अहिलेसम्म पूरा गरेन। बरू श्रमिकहरू आफ्नो हकका लागि अनशन बस्नु पर्ने अवस्था सिर्जना गरिराख्यो।
लङभ्यु चियाकमानका मालिक कोलकातानिवासी गोविन्द गर्ग हुन्। कुनै समय करिब श्रमिक -अस्थायी श्रमिक र कर्मचारी गरी करिब 2,000 यस चियाकमानमा कार्यरत् थिए। यद्यपि पछिल्लोपटक मालिकको श्रमिक शोषण नीति हाबी भएपछि समस्या बाक्लिन र श्रमिक-कर्मचारीहरू पात्लिन थालेको गोलेको भनाइ छ।
उनका अनुसार अहिले यस चियाकमानमा श्रमिक-अस्थायी श्रमिक र कर्मचारी गरी करिब 300 जना कार्यरत् छन्। उनीहरूले बोनस र वेतन र अन्य गरी मालिकबाट लगभग 95 लाख रुपियाँ पाउन बाँकी नै छ।
उल्लेखनीय छ, लङभ्यु चियाकमानमा पछिल्लो वर्षदेखि नै समस्या गहिरोको हो।
9 दिसम्बरका दिन मालिकपक्षले ‘सस्पेनशन अव् वर्क’ नोटिस टालेर चियाकमानमा ताला झुण्डाएको थियो। तर केही दिनपछि पुनः कमान खोलियो।
कमान त खोलियो तर श्रमिकहरूको समस्या भने हटेन। बोनस र वेतनको टुङ्गो लागेन। जनवरी महिनाको अन्तिम सातातिर बोनस र वेतन नपाएका कारण श्रमिकहरू पुनः मेलोमा जानै छोड़े। पछि फेरि कमानमा काम सुचारू त भयो, तर श्रमिकको समस्या समाधान भने भएन। उल्टै यो समस्या थप बढ़्दै गइरहेको छ, जसले लङभ्यु चियाकमानका श्रमिकहरूको भविष्य सङ्कटमय बनेको छ।