गान्तोक, 21 अगस्तः पछिल्लो एक हप्तादेखि निरन्तर विवादमा मुछिँदै आएको मणिपाल अस्पतालमा फेरि अर्को लापरवाहीको घटना प्रकाशमा आएको छ।
अस्पतालबाट आफ्नी पत्नीलाई निको बनाएर लैजाने तयारी गरिरहेकै बेला अचानक पत्नीको मृत्यु भएको पति श्याम प्रधानले बताएका छन्।
पूर्व सिक्किमको जालीपुल निवासी प्रधानले आज पत्रकारहरूलाई बताएअनुसार उनकी पत्नी गीता राईलाई निम्न रक्तचाप भएकाले सोमबार अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले भनेका सबै कुरा सुन्दै आए तापनि अन्त्यमा गलत उपचारका कारण आफ्नो पत्नीको मृत्यु भएको प्रधानले बताएका छन्।
महिलाको मृत्यु हुनअघि नै अस्पतालले उनको स्वास्थ्यमा हठात आएको खराबीबारे स्पष्टीकरण दिए तापनि उनका परिवारले मृत्युको कारण गलत उपचार नै रहेको दाबी गरेका छन्।
अस्पतालले काँक्रा खाएकाले चोक भएको दाबी गरेको थियो। यदि सही उपचार पाउनु हो भने आफ्नी पत्नीले ज्यान गुमाउने थिएनन् भन्दै पति श्याम प्रधानले यसको पूर्ण जिम्मेवार मणिपाल रहेको बताएका छन्।
अस्पतालको चरम लापरवाहीले आफ्ना ससाना नानीहरूले आमा गुमाएको बताउँदै उनले न्यायको गुहार लगाएका छन्। पीडित परिवारले पुलिसमा उजुरी पनि गरिसकेको छ।
अर्कोतिर, यसबारे अस्पताल प्रबन्धनसित कुरा गर्न चाहँदा कोही अघि आउन चाहेनन्।
यद्यपि यसै मामिलामा बिहीबार अस्पताल प्रबन्धनले एक प्रेस विज्ञप्ति जारी गरी मिडियाले गलत खबर दिएको दाबी गरेको थियो। मृतककी सासुले पनि बालककालमै आमा गुमाएका नानीहरूका लागि अस्पताल प्रबन्धनपक्ष र अन्यप्रति गुहार लगाएकी छन्।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता मणिपाल अस्पतालमाथि लापरवाहीको आरोप लाग्दै आइरहेको छ।