जापले पाएन स्थापना दिवस मनाउने अनुमति, जनतालाई जागरूक बनाउन शुरु गऱ्यो पैदल यात्रा

0
2323
पैदल यात्रा शुरु गर्नअघि पूजा गर्दै जाप प्रमुख हर्कबहादुर छेत्री। फोटो मुकेश शर्मा

कालेबुङ, २७ जनवरी : जन आन्दोलन पार्टीले आइतवारदेखि पैदल यात्रा शुरु गरेको छ। पहिलो दिन डेलोदेखि दुर्पिन गुम्बासम्मको लक्ष्य राखेर जापका शीर्ष नेतृत्वहरूले पैदल यात्रा शुरु गरेका हुन्।

यो पैदलल यात्रामा जाप प्रमुख डा. हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान, ब्युरो सदस्य नवराज गुरुङ, नोर्देन पेम्पा हिस्सेलगायत जापको युवा एकाइका कार्यकर्ताहरू सहभागी बनेका छन्।

जापले आज आफ्नो चौथो स्थापना दिवस मनाउने अनुमति नपाएपछि जनतालाई जागरूक बनाउँदै यो पैदल यात्रा शुरु गरेको जाप प्रमुख हर्कबहादुर छेत्रीले बताए।

आज उनले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै पार्टीको पैदल यात्रा कार्यक्रमबारे जानकारी गराए। छेत्रीले भने, “हामीले प्रशासनबाट स्थापना दिवस मनाउने अनुमति पाएनौं। पछिल्लो वर्ष पनि स्थापना दिवस मनाउने अनुमति नपाएपछि हामीले सिलगढ़ीमा स्थापना दिवस मनाएका थियौं। यो पैदल यात्रा प्रशासनबाट अनुमति नपाएको विरोधस्वरूप पनि हो, तर हाम्रो उद्देश्य जनतालाई पहाड़को वर्तमान राजनीतिक परिस्थिति र आगामी लोकसभा चुनाउबारे जागरूक बनाउनका लागि हो।’’

पार्टीलाई स्थापना दिवस मनाउन नदिएकोमा उनले प्रशासनको पनि निन्दा गरे। साथै यो पद यात्रालाई जारी राख्ने बताए।

“हाम्रो यात्रा प्रतिदिन चलिरहन्छ भन्ने होइन, तर हामी यो यात्रालाई जारी राख्नेछौं। कालेबुङपछि दार्जीलिङ, खरसाङ र सिलगढ़ीसम्म जानेछौं’’, उनले थपे, “बाटो बाटोमा भेटिएका मानिसहरूलाई हामी दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक परिस्थिति र आगामी लोकसभा चुनाउको महत्त्वबारे बुझाउनेछौं। उनीहरूलाई जागरूक बनाउनेछौं।’’

एक प्रश्नको उत्तरमा डा. छेत्रीले आगामी लोकसभा चुनाउमा दार्जीलिङ पहाड़कै भूमिपुत्र उम्मेद्वार हुनुपर्ने अड़ानमा जाप रहेको बताए। उनले भने, “आगामी लोकसभा चुनाउ सधैँभन्दा महत्त्वपूर्ण छ। छुट्टै राज्यको मागलाई जिउँदो राख्ने कि मार्ने भन्ने कुरा आगामी लोकसभा चुनाउले स्पष्ट पार्छ। त्यसैले जापले आगामी लोकसभा चुनाउमा पहाड़कै उम्मेद्वार होस् भन्ने चाहन्छ। हाम्रो माग भूमिपुत्र उम्मेद्वार मात्र होइन, तर उम्मेद्वारको हाइकमान पनि दार्जीलिङ पहाड़मा नै हुनुपर्छ भन्ने पनि हो।’’

उनले जाप छुट्टै राज्यका लागि दृढ़ सङ्कल्पित रहेको पनि बताए। उनका अनुसार जापले छुट्टै राज्यका लागि निरन्तर कार्य गरिरहनेछ। “जन आन्दोलन पार्टी जनताको बीचबाट जन्मेको पार्टी हो। यसैले छुट्टै राज्य प्राप्त नभइञ्जेल सङ्घर्ष गरिरहनेछ’’, छेत्रीले भने।

पैदल यात्रा शुरु गर्न अघि डेलोस्थित हनुमान मन्दिरमा जाप नेतृत्वहरूले पूजा गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here