सिक्किमको जैविक ‘सभ्यता’

0
1165

गत 15 अगस्तको दिन राष्ट्रलाई स्वाधीनता दिवसीय आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको जैविक कृषि क्रान्तिको फेरि एकपटक खुलेर प्रशंसा गर्दै यसलाई अनुकरण गर्न योग्य बताए। सिक्किमको जैविक कृषिको राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चहरूमा मोदीले एक-दुइपटक होइन, अनेकौंपटक उल्लेख र उच्च प्रशंसा गरिसकेका छन्। यसरी, एक, सिक्किममा सरकारी स्तरमा यसको व्यापक प्रयोग अनि दोस्रो, स्वयं प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गरिनु अनि तेस्रो, संयुक्त राष्ट्र सङ्घस्तरीय संस्थाले यो प्रयोगलाई पुरस्कृत गर्नुले सिक्किम राष्ट्रिय अनि विश्‍व रङ्गमञ्चमा एउटा नयाँ परिचयसहित उभिनुपुगेको छ। पवन चामलिङ नेतृत्वाधीन एसडीएफ सरकारको यो महानतम् उपलब्धि हो।

जैविक कृषि के हो? त्यसबारे नयाँ गरी भनिरहन आवश्यक छैन। विज्ञानले मानिस, समाज अनि विश्‍वमा अभूतपूर्व क्रान्तिकारी परिवर्तन ल्याइदियो। तर प्रकृतिमा जहाँ पनि मानिसले अनावश्यक हस्तक्षेप गऱ्यो, त्यहीं त्यहीं त्यसको भयानक दुष्परिणाम मानिसले भोग्नुपरेको छ। तीमध्ये प्रमुख हो- पर्यावरण र खाद्यान्न। एक समय पर्यावरणको विनाश नै विकासको एकमात्र र अनिवार्य शर्त ठान्ने काम भयो, तर पर्यावरणको विनाशले निम्त्याएका त्रासदीहरूले विश्‍वका सबै राष्ट्रलाई कार्बन उत्सर्जन कम गर्न दह्रो अन्तर्राष्ट्रिय सन्धि गर्न विवश बनाइदियो। सन्धिको उल्लङ्घन भइरहेकै छ। तर, पर्यावरणलाई विकृत गर्नुहुन्न भन्ने सशक्त चेतना र नैतिक दबाउ सिर्जना भइसकेको छ।

यसरी नै हावा, पानी मौसमजत्तिकै महत्त्वपूर्ण कुरा खाद्यान्नमा विज्ञानको हस्तक्षेप र अति उत्साहपूर्ण प्रयोगधर्मिताले मानवजातिको स्वास्थ्य जोखिममा परेको छ। कृषि तथा खाद्यान्नमा वैज्ञानिक प्रयोगले ठूला ठूला चमत्कारहरू गरेका छन्, जेनेटिक मोडिफिकेशनले थुप्रै नयाँ प्रजातिहरूलाई अस्तित्वमा ल्याएको छ भने प्रजातिहरूको पनि विविधीकरण सम्भव भएको छ। कीटनाशक औषधि र रासायनिक मलको प्रयोगले उत्पादनमा अभूतपूर्व वृद्धि देखापरेको छ। हामीले मान्नुपर्छ – विज्ञानको सफलताले पृथ्वीका अधिकांश देशबाट खाद्यान्न सङ्कटलाई समाप्त गरिदियो। तर, खाद्यान्नमा विज्ञानको प्रयोगधर्मिताले यसलाई विषालु र रोगकारक पनि बनाइदियो। भारतमै पनि ‘हरित क्रान्ति’ -ले पञ्जाब, हरियाणा, उत्तर प्रदेशजस्ता राज्यहरूलाई विशाल कृषि प्रधान राज्यको रूपमा उभ्याइदियो तर एक-दुइ दशकको सफल प्रयोगपछि त्यो विषादियुक्त हरित-क्रान्तिले जनसङ्ख्याको ठूलो हिस्साको स्वास्थ्यमा गम्भीर असर देखाउन थाल्यो।

भनिन्छ, पञ्जाबका अधिकांश परिवारहरूमा क्यान्सरको रोगी भेटिन्छ। पञ्जाबबाट दिल्ली आउने एउटा विशेष ट्रेनमा क्यान्सर रोगीहरूको बाहुल्य हुन्छ भनिन्छ। पञ्जाब देशको अत्यन्त धनी राज्यहरूमा गनिन्छ, तर त्यस राज्यका नागरिकहरू आज असाध्य रोगहरूसित जुझिरहेका छन्।

यो राष्ट्रिय अनि वैश्‍विक परिस्थितिमा पवन चामलिङले सन् 2003 -देखि सिक्किममा ‘जैविक कृषि क्रान्ति’ राज्य स्तरमा शुरू गरे। सिक्किम हिमाली एवं पहाड़ी राज्य हो, यहाँको जलवायु स्वच्छ छ। तर, खाद्यान्न उत्पादनमा रासायनिक कीटनाशक र मलको प्रयोगले सिक्किमेली जनताको स्वास्थ्यमा नजानिँदो प्रकारले परिरहेको नकारात्मक प्रभावप्रति चिन्तित रहेर चामलिङले समग्र सिक्किम राज्यलाई नै जैविक राज्य बनाउने अजङ्गको लक्ष्य लिएर काम शुरू गरे।

हामीलाई थाहा छ – जैविक सिक्किमको परिकल्पना र मिशनको कति व्यापक खिसीट्युरी भयो, विरोध भयो, आलोचना भयो, असहयोग भयो। तर लगातार दृढ़तापूर्वक यस मिशनमा लागेर चामलिङले सन् 2015-16 -मा सिक्किमलाई देश र विश्‍वको पहिलो ‘पूर्ण जैविक राज्य’ बनाइछाड़े। सन् 2018 -मा संयुक्त राष्ट्र सङ्घको खाद्य एवं कृषि सङ्गठन, वर्ल्ड फ्युचर काउन्सिल अनि आइ.एफ.ओ.ए.एम. अर्ग्यानिक्स इन्टरनेशनलले ‘फ्युचर पोलिसी गोल्ड अवार्ड’ 100 प्रतिशत जैविक राज्यको रूपमा सिक्किमलाई प्रदान गर्‍यो। यस पुरस्कारलाई श्रेष्ठ नीतिहरूका ‘अस्कर पुरस्कार’ सरह मानिन्छ। सिक्किमले विश्‍वका 25 वटा देशका जम्मा 51 वटा नामित (नोमिनेटेड) प्रतिभागीहरूलाई उछिनेर यो पुरस्कार जित्यो।

यसरी सिक्किममा 15 वर्षको अथक परिश्रमपछि एउटा संस्कृति, एउटा सभ्यताको उदय भयो, जसले सारा विश्‍वलाई मार्गदर्शन र प्रेरणा प्रदान गरिरहने छ। दुर्भाग्यवश सन् 2019 -मा सिक्किममा सरकार परिवर्तन भयो र यस्तो संस्कृतिलाई निरन्तरता दिने सरकार आएन। प्रजातन्त्रमा सरकारहरू परिवर्तन हुन्छन् तर आधारभूत नीतिहरूमा परिवर्तन हुनुहुँदैन। तर सिक्किममा कृषि क्षेत्रमा आधारभूत नीति नै परिवर्तन भइरहेको देखिँदैछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here