राजु बिष्ट असफल जनप्रतिनिधि : केशवराज पोख्रेल

0
1031

दार्जीलिङ, 23 अगस्तः विनय तामाङपन्थी गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले दार्जीलिङका सांसद राजु बिष्टलाई एक असफल जनप्रतिनिधिको संज्ञा दिँदै उनी जनताका समस्या सुल्झाउने आफ्नो जिम्मेवारीबाट भागिरहेको आरोप लगाएका छन्।

उनले यसै विषय लिएर एक विज्ञप्ति जारी गर्दै भनेअनुसार, जब जनताले नेतासमक्ष गुनासो पोख्छन्, त्यो जनता सचेत भएको लक्षण हो। जनताले गुनासो पोख्नुको अर्थ नेताले जनताको समस्या समाधान गर्ने माग गरेका हुन्। तर जनताको गुनासोलाई प्रोपगान्डा बनाउनु भनेको नेता आफ्नो जिम्मेवारीदेखि टाढ़ा भाग्नु हो। नेता असफल हुनु हो। यस्तै नेता दार्जीलिङका सांसद राजु बिष्ट हुन्।

बिष्ट कैयौं विज्ञप्तिअनुसार, जनताले दार्जीलिङ पहाड़ विषय लिएर धेरै गुनासो पठाएको खुलासा भएको छ। तर जनताका गुनासाहरूमाथि उनले के काम गरे भन्ने पोख्रेलको प्रश्न छ।

यसका साथै काम गर्नुका सट्टा सांसदले विज्ञप्तिमार्फत जीटीएलाई गाली गर्ने काम मात्रै गरिरहेको उनले बताएका छन्।

‘जीटीए असक्षम भएको छ भनेर खोइरो खन्नु मात्रै सांसदको काम होइन। अरूको दोष देखाउनु कसैले पनि सक्छ’, विनयपन्थी मोर्चा प्रवक्ताले भनेका छन्, ‘सांसद अनि नेताको काम समस्या सुल्झाउनु हो। तर खोई सांसद बिष्टले पहाड़का समस्या सुल्झाएको?’

पोख्रेलले थप भनेका छन्, ‘कोरोना सङ्क्रमणका शुरूमा नै अहमदाबादमा नमस्ते ट्रम्प कार्यक्रमको आयोजन,  मध्यप्रदेशमा कङ्ग्रेस सरकार ढालेर भाजपाको सरकार गठन अनि १८ दिनमा नै कोरोना खत्तम भनेर २१ दिने लकडाउनजस्ता कार्यक्रमहरू भाजपा सरकारद्वारा आयोजित कार्यक्रमहरू हुन्। तर, आजको कोरोना सङ्क्रमणको विकराल स्थिति छ। त्यति मात्र होइन, तब्लिगी जमातलाई कोरोना संक्रमणको पर्याय नै बनाइएको थियो। ताली, थाली, दीयोको नाटकको आनन्द सबैले लिएकै हुन्। भारतीय वायसेनाको पुष्प वर्षाको रमणीय दृश्यको आनन्द पनि सबैले लिएकै हुन्। तब के कोरोना सङ्क्रमण थामियो?  दुई दिनअघि मात्र मुम्बई हाई कोर्टले तब्लिगी जमातलाई कोरोना फैलायो भनेर केवल बलीको बाख्रा बनाएको बताएको थियो।‘

भाजपा प्रायोजित प्रोपागान्डाले कोरोना सङ्क्रमणको रोकथाम होइन। तर आम मानिसहरूलाई आर्थिक, मानसिक अनि शारीरिक रूपले आघात पुऱ्याएको केशवराज पोख्रेलको भनाइ छ।

साथै यसै प्रोपागान्डाको कारण देशको प्रगति नै रोकिएको उनले बताएका छन्।

पोख्रेलले भनेका छन्, ‘कोरोना सङ्क्रमणको रोकथामलाई पर सारेर भाजपा बिहार अनि बङ्गालको चुनावी तयारीमा जुटिसकेको छ। मान्छेलाई खाने समस्या भइरहेको समय 72,000 एलईडी टीभी गाउँ-गाउँमा लगेर भाजपाको भर्चुअल ऱ्याली भएको कसैले पनि भुलेका छैनन्। बङ्गालमा ममता सरकारलाई हटाउन, सरकार कोरोना रोकथाम गर्न सक्षम छैन भन्ने देखाउन, भाजपाको प्रोपागान्डा अहिलेसम्म चलिरहेको छ। यही प्रोपागान्डाको सानो भागको खेल राजु बिष्टले पहाड़का जनतासँग पनि खेलिरहेका छन्।’

उनका अनुसार यसैले पनि सांसद राजु बिष्टका प्रत्येक विज्ञप्तिमा जीटीएलाई बदनाम गराउने कुरा लेखिएको हुन्छ।

‘जनताले उनलाई के का लागि सांसद बनाका हुन्, त्यो काम फत्ते गरेको उचित हुनेछ। उनले संसद सत्र शुरू हुनलाग्यो भन्दै यसपालिको संसद सत्रको शून्यकालमा पनि केवल बोल्ने काम गर्ने कि गोर्खाल्याण्डको बील पेश गर्ने?’, विनयपन्थी मोर्चा प्रवक्ता केशवराज पोख्रेलले प्रश्न गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here