दार्जीलिङ, 24 अगस्तः कोरोना भाइरससँग डराउनु होइन, तर लक्षण देखा परे जाँच गराउनु उत्तम रहेकाले लक्षण देखिएमा तुरुन्तै जाँच गराउने जीटीए बीओएका अध्यक्ष अनित थापाले जनतालाई अपील गरेका छन्।
उनका अनुसार डराएर बिमार लुकाउनु हानिकारक हुन्छ।
थापाले जीटीए क्षेत्रवासीलाई अपील गर्दै भनेका छन्, ‘यदि कसैले पनि आफ्नोमा कोरोना भाइरसको लक्षण रहेको अनुभव भए, यसलाई नलुकाएर नजिकैको सरकारी अस्पतालमा गएर जाँच गराएको उचित हुनेछ।’
घाँटी दुखेमा, श्वास फेर्न गाह्रो भएमा वा ज्वरो आएमा नजिकैको सरकारी अस्पतालमा गएर जाँच गराउने उनको अपील छ।
यदि जाँचको रिपोर्ट पोजिटिभ आइहालेमा पनि जीटीएद्वारा प्रायोजित निःशुल्क उपचार लिन सकिने थापाले जानकारी गराएका छन्।
उनका अनुसार जीटीए क्षेत्रका कोही पनि कोरोना सङ्क्रमित भएमा, उनीहरूको उपचार जीटीएले निःशुल्क गराइरहेको छ।
यदि बिमार छिट्टो पत्तो लगाउन सकिए, उपचार पनि चाँड़ो थापाको भनाइ छ।
‘विगत केही दिनयताका घटनाहरूमा धेरै व्यक्तिहरूले कोरोनाको लक्षणलाई लुकाएर राखेको स्पष्ट भएको छ। यदि उनीहरूको जाँचमा कोरोनाको लक्षण देख्नसाथ गरिएको भएमा धेरैको ज्यान हामी बचाउन सक्ने थियौँ’, जीटीए बीओएका अध्यक्षले भनेका छन्।
अर्कोतिर जीटीए सर्भिलान्स कमिटीका सदस्यहरूले पनि विगतको तुलनामा अझै बढ़ी चनाखो भएर गाउँ-घर, बजार, कमानबस्ती र वार्डहरूमा काम गर्नुपर्ने उनले सुझाएका छन्।
यदि सर्वेक्षण क्षेत्रमा कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखा परेमा उनीहरूको रिपोर्ट स्वास्थ्य विभागलाई दिइहाल्नुपर्ने थापाको भनाइ छ।
‘कोरोना भाइरससँग लड्ने अचुक हतियार भनेको नै सार्वजनिक स्थलमा मास्क लगाउनु, हात धुनु साथै सेनिटाइजरको प्रयोग गर्नु हो। अनि मानिससँग भेट हुँदा 6 फिटको दूरी राख्नु हो। यदि यी हतियारहरूको प्रयोग गऱ्यौँ भने सम्पूर्ण जनता कोरोना सङ्क्रमणबाट बच्नेछन्’, अनित थापाले भनेका छन्।