गोदुनिस दार्जीलिङले अनलाइन एकाङ्की नाटक प्रतियोगिता आयोजना गर्ने

0
1572

दार्जीलिङ, 25 अगस्तः गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङले यसपालि अनलाइन एकाङ्की नाटक प्रतियोगिताको आयोजना गर्ने तय गरेको छ।

विशेषगरी कोरोना सङ्क्रमणको कारण नै सम्मेलनले यस वर्ष अनलाइन नाटक प्रतियोगिताको आयोजना गर्ने निर्णय लिएको हो।

यसबारे जानकारी गराउँदै गोदुनिस नाटक उप-समितिका अध्यक्ष पेम्बा बम्जनले गत वर्षदेखि शुरू गरिएको एकाङ्की नाटक प्रतियोगितालाई यसपालि अनलाइन गर्नपरेको जानकारी गराए।

“कोरोना सङ्क्रमणले विश्‍वलाई नै तहस-नहस पारिरहेको समय पनि जीवनलाई अघि बढ़ाउनै पर्छ’’, उनले थपे, “यसैले कोरोनासित लड़ाइँ गर्दै भए पनि गोदुनिसले आफ्ना विविध कार्यक्रममध्ये एकाङ्की नाटक प्रतियोगिताको आयोजना गरेर नै देखाउने सङ्कल्प गरेको हो।’’

यसका साथै बम्जनले नाटकको भिडियोग्राफी क्यामेरा वा एन्ड्रोइड फोनले पनि गर्न सकिने बताउँदै नाटकको अवधि 20 मिनटको हुनुपर्ने नियम राखिएको पनि जानकारी गराए।

उनले भने, “यसका लागि इच्छुक नाट्य टोलीहरूले आउँदो 15 सेप्टेम्बरभित्र आवेदन गर्नुपर्ने र आवेदनमा नाट्य टोलीको नाम, नाटकको नाम, निर्देशकको नाम, कलाकारहरूको नाम, ठेगाना साथै फोन नम्बर पनि पठाउनुपर्नेछ।’’

यसका साथै सम्मेलनको ब्याङ्क एकाउण्टमा 500 रुपियाँ शुल्क तिरेको रसिद पनि गाभ्नुपर्नेछ, त्यसपछि 25 सेप्टेम्बरभित्र नाटक सम्मेलनलाई पठाउनुपर्नेछ, तर कोरोना सङ्क्रमणको कारण नाटकमा 8 जनाभन्दा अधिक कलाकारलाई सामेल गर्न नपाइने, यी कलाकारहरूले पनि सामाजिक दूरीको नियमलाई पालन गर्नुपर्ने अनि नाटकमा राजनीति, व्यक्तिगत आक्षेप गर्न नपाइने नियमहरूलाई पनि पालन गर्नुपर्नेछ।

यति मात्रै होइन, नाटकको भिडियोग्राफी एकै टेकमा गरिएको हुनपर्छ अनि त्यसमा कुनै सम्पादन गरिएको हुनु हुँदैन।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थानमा आउने नाटकलाई क्रमैले 30 हजार, 20 हजार, 10 हजार र 5 हजार रुपियाँ नगद राशि प्रदान गरिने पनि बम्जनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here