खरसाङमा गोजमुमोको जनसभा : आगामी चुनाउमा चुनाउ चिह्न जेसुकै होस्, तर भोट चाहिँ गोर्खालाई दिनुपर्छ : अनित थापा

0
1086
खरसाङको जनसभालाई सम्बोधन गर्दै अनित थापा।

खरसाङ,  २७ जनवरी : आगामी लोकसभा चुनाउमा गोर्खा उम्मेद्वारलाई जिताएर सांसद पठाउनुपर्ने कुरामा गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा) -का महासचिव अनित थापाले जोड़ दिएका छन्। आइतबार खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै थापाले भने, “आगामी लोकसभा चुनाउमा चिह्न जेसुकै होस्, तर भोट चाहिँ गोर्खालाई दिनुपर्छ।’’

पछिल्लो २३ जनवरीको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको राष्ट्रिय चिह्नारीको समस्याको स्थायी समाधान गरिदिने वचन दिएकोले सम्पूर्ण गोर्खाहरूको पक्षबाट मुख्यमन्त्रीलाई धन्यवाद दिनका लागि आजको जनसभा आयोजन गरिएको पनि उनले स्पष्ट पारे। साथै मुख्यमन्त्रीको बयानले उनले गोर्खाहरूको ऐतिहासिक जीत बताए।

सभालाई गोजमुमो खरसाङ महकुमा समितिका अध्यक्ष किशोर थापाले अध्यक्षता गरेका थिए। गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का उपाध्यक्षसमेत रहेका अनित थापाले भने, “बङ्गालका कुनै पनि मुख्यमन्त्रीले गोर्खाहरूको राष्ट्रिय चिह्नारीको समस्याको स्थायी समाधानका लागि काम वचन दिएको यो पहिलोपटक हो। यसैले यो हाम्रो ऐतिहासिक जीत हो। अहिले राज्यकी मुख्यमन्त्रीसँग हाम्रो राम्रो सम्बन्ध छ। हामी मिलेर काम गर्न चाहन्छौं। र यो विषयमा ढाँट्ने कुरै आउँदैन। राज्यसँग मिलेर काम गर्नु नै सही रहेछ।”

उनले पछिल्लोपटक गोर्खाल्याण्ड आन्दोलनमा आफूहरूले गरेको सङ्घर्ष पनि सम्झिँदै भने, “गोजमुमोको नेतृत्वमा आन्दोलन भयो। जलाउने र तोड़फोड़ गर्ने कार्य भयो। लामो समयसम्म बन्द पनि भयो, तर नेताहरूका छोराछोरी सुरक्षित र राम्रो बन्दोबसमा थिए। जातिलाई खाड़लमा जान नदिनुलाई विनय दाजु र मैले ठूलो रिक्स उठाएका थियौं। त्यतिबेला लिएको रिक्स घाँटीमा अड़्केको विषजस्तै थियो। तर खरसाङवासीले मलाई सहयोग गरे। खरसाङबाट बिस्तारै कालेबुङ र दार्जीलिङका जनतालाई बुझाउँदै गयौं।’’

थापाले आफ्नो सम्बोधनमा सुवास घिसिङ र विमल गुरुङमाथि कटाक्ष पनि गरे। उनले सुवास घिसिङले गोर्खाल्याण्डको आन्दोलन गरेर दार्जीलिङ गोर्खा पार्वत्य परिषद र विमल गुरुङले पनि गोर्खाल्याण्डको आन्दोलन गरेर गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को चौकीमा बसेको बताए।

“मैले गोर्खाल्याण्ड माग्ने तरिका भएन भन्दा मविरुद्ध विभिन्न आरोप लगाइयो’’, उनले थपे, “मैले धेरै सङ्घर्ष गरेर गोर्खाल्याण्ड माग्ने तरिका जनतालाई बुझाए।’’ उनले आफ्नो सम्बोधनमा जीटीएमार्फत् भइरहेको र आगत दिनहरूमा हुने विकासकार्यबारे पनि जानकारी गराएका थिए।

थापाले खरसाङको महकुमा अस्पताललाई व्यवस्थित बनाउने तथा खरसाङको ठूलो समस्याको रूपमा रहेको पार्किङको समस्यालाई पनि समाधान गर्ने बताए।

सभालाई दार्जीलिङ तराई-डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू) केन्द्रिय समिति अध्यक्ष करुणा गुरुङ, गोर्खा जनमुक्ति नारी मोर्चा (गोजनामो) केन्द्रिय अध्यक्ष छिरिङ दाहाल, खरसाङ नगरपालिकाका पार्षद् सुवास प्रधानले पनि जनसभालाई सम्बोधन गरेका थिए।

यसअवसरमा गोजमुमो समर्थकहरूको बाक्लो उपस्थिति थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here